एसीसी प्रिमियर कपमा नेपालको शानदार जीत
SamacharDesk | २०८० बैशाख ८, शुक्रबार

एसिसी मेन्स प्रिमियर क्रिकेट कपअन्तर्गत आज भएको खेलमा नेपालले ओमानमाथि शानदार जीत हासिल गरेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले ओमानमाथि ८४ रनको शानदार जित हात पारेको हो । ४६.३ ओभरमा ९ विकेट गुमाएको ओमानका ११ औं नम्बर ब्याट्सम्यानले चोटका कारण ब्याटिङ गर्न नआएपछि ओमान २२६ रनमा अलआउट भएको थियो ।
यसअघि टस हारेर ब्याटिङ गरेको नेपालले ओमानलाई ३११ रनको लक्ष्य दिएको छ । नेपालले कुशल मल्लको १०८ र सोमपाल कामीको ६३ रनको मद्दतमा निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३१० रन बनाएको हो । यसअघि गत मार्चमा लिग टुमा पपुवा न्युगिनीविरुद्ध २९७ रन बनाएको थियो ।
१९ वर्षीय कुशलले नेपालका लागि सबैभन्दा छिटो ओडिआई शतक प्रहार गर्ने कीर्तिमान पनि बनाए । उनले ५९ बलमा ९ चौका र ९ छक्का प्रहार गर्दै शतक पूरा गरेका थिए । कुशल ओडिआईमा नेपालका लागि शतक प्रहार गर्ने छैटौं खेलाडी समेत बने ।
यसअघि नेपालका लागि पूर्व कप्तान पारस खड्का, दीपेन्द्र सिंह ऐरी, रोहित पौडेल, कुशल भुर्तेल र आसिफ शेखले शतक प्रहार गरिसकेका छन् । सन् २०२० मा क्रिकेट विश्वकप लिग टु अन्तर्गत कीर्तिपुरमै अमेरिकाविरुद्ध डेब्यु गरेका कुशल मल्लले २१औं खेलमा आएर पहिलो शतक प्रहार गरेका हुन् ।
उनी नेपालका लागि ओडिआईमा सर्वाधिक रन बनाउनेमा सातौं स्थानमा छन् । बलिङमा ओमानका आयन खानले दुई विकेट लिए । विलाल खान, कालीमुल्लाह, जीसान मक्सुद, फायज बट्, अक्वीब लायस र जतिन्दर सिंहले एक एक विकेट लिए ।
समूह ‘ए’ मा रहेको नेपालको यो लगातार दोस्रो जित हो । पहिलो खेलमा नेपालले मलेसियालाई ६ विकेटले पराजित गरेको थियो ।
Categorized in स्पाेर्ट्स