ध्वनि प्राविधिक राजकृष्ण रहेनन्
SamacharDesk – समाचारडेस्क रिपोर्टर | २०८० बैशाख ८, शुक्रबार

नेपाली चलचित्र जगतका वरिष्ठ ध्वनि प्राविधिक राजकृष्ण श्रेष्ठको निधन भएको छ । करिब डेढ महिना अगाडिबाट स्वास्थ्यमा समस्या देखिएपछि उपचाररत रहेका श्रेष्ठको उपचारकै क्रममा बीर अस्पतालमा निधन भएको हो ।
स्वास्थ्यमा समस्या देखिएपछि उनलाई सुरुमा क्षेत्रपाटी निःशुल्क चिकित्सालयमा उपचारको लागि भर्ना गरिएको थियो । पछि थप परिक्षण र उपचारको लागि वीर अस्पताल सारिएको थियो भने सोही अस्पतालमा उनको निधन भएको हो ।
स्वास्थ्य परिक्षणको क्रममा उनमा जण्डिस देखिएको थियो । उपचारको क्रममा स्वास्थ्य सुधार भइरहेकोमा अचानक बुधबार स्वास प्रश्वासमा थप समस्या देखिएको र विहिबार विहान अकस्मात उनको मृत्यु भएको वरिष्ठ सिने पत्रकार विजयरत्न तुलाधरले जानकारी दिए ।
करिब चार दशक अगाडि नेपाली चलचित्रमा ध्वनि प्राविधिक रुपमा आफ्नो करिअर शुरु गरेका श्रेष्ठले तृष्णा, देउकी, प्रेयसी, विद्रोह, वीर गणेशमानलगायतका सय भन्दा बढी नेपाली चलचित्रमा ध्वनि प्राविधिकको रुपमा काम गरेका छन् ।
त्यसैगरी विश्व प्रसिद्ध चिनियाँ सिरियल पश्चिम तिरको यात्रा, ब्रुसलीको कथा, सुयान चाङ्ग नामक चिनियाँ चलचित्रको नेपाली संस्करणमा पनि उनले ध्वनि प्राविधिक रुपमा काम गरेका थिए । उ
नले सर्वोत्कृष्ट ध्वनि प्राविधिकको रुपमा थुप्रै अवार्डहरु जितेका छन् ।
स्वर्गीय श्रेष्ठको परिवारमा श्रीमति र विवाहित छोरी छन् ।
Categorized in पेजथ्री