arin enterprises

रातो मच्छिन्द्रनाथको रथारोहण सम्पन्न

SamacharDesk – बिराज | २०८० बैशाख ९, शनिबार

सहकाल र वर्षका देवता रातो मच्छिन्द्रनाथको रथारोहण शुक्रबार पुल्चोकमा सम्पन्न भएको छ ।

हरेक वर्ष अक्षया तृतीयाको दुई दिन अघि रातो मच्छिन्द्रनाथलाई रथमा राख्ने परम्परा अनुसार रथारोहण गराइएको हो ।

रथमा विराजमान गराउन मच्छिन्द्रनाथको मूर्तिलाई बाजागाजासहित ललितपुरको तःबहालबाट खटमा बोकेर पुल्चोक पुर्‍याइएको थियो ।

त्यसअघि मच्छिन्द्रनाथको रथमा ‘धकि बायम्वः’ राख्ने काम सम्पन्न गरिएको थियो । रथको टुप्पोमा ‘धकि बाय्म्वः’ राखेपछि रथ निर्माणको क्रम सम्पन्न भएको मानिन्छ ।

ञवाः भनिने डंगोल थरका समुदायले ‘धकि बायम्वः’ राख्ने गर्छन् । बाराही थरका समुदायले रथ निर्माणको अन्य काम सम्पन्न गर्छन् भने ‘धकि बायम्वः’ राख्ने काम ञवाःहरुले गर्छन् ।

यसपालि राती अलि ढिला मात्र रथारोहण सम्पन्न भएको थियो । मच्छिन्द्रनाथको रथारोहण हेर्न पूल्चोकमा दर्शनार्थीहरुको भीड नै लागेको थियो ।

मच्छिन्द्रनाथलाई अक्षया तृतीयाको दुई दिन अघि अर्थात बैसाख शुक्ल प्रतिपदाको दिनमा रथमा विराजमान गराइन्छ भने अक्षया तृतीयाको भोलिपल्टबाट रथयात्रा सुरु गरिन्छ ।

रथयात्राको पहिलो दिन रथलाई पुल्चोकबाट तानेर गाःबहाल पुर्‍याइन्छ । गाःबहाल पुर्‍याइदिने दिनको जात्रालाई गाःबहाःयाः भनिन्छ ।

त्यसपछि क्रमशः सुन्धारामा नुगःयाः, लगनखेलमा लगंया, याकः मिसा भुज्याः पछि साइत अनुसार जावलाखेलमा रथ तानेर लागी भोटो जात्रा पछि जात्रा सम्पन्न हुने गर्दछ ।

नेपालमा मनाइने सबैभन्दा लामो जात्राको रुपमा रातो मच्छिन्द्रनाथको जात्रालाई लिइन्छ ।

करुणामय समेत भनिने रातो मच्छिन्द्रनाथलाई नाथ सम्प्रदायीहरुले मच्छिन्द्रनाथ, शैव धर्माबलम्बीले शिब, वैष्णबहरुले विरिञ्ची नारायण, सुर्यका उपासकले सूर्य, शाक्तहरुले शक्ति र बौद्ध धर्मावलम्बीहरुले आर्यावलोकितेश्वरको रुपमा मान्ने गर्छन् ।

भक्तपुरका राजा नरेन्द्रदेब, काठमाडौंका तान्त्रिक बन्धुदत्त आचार्य र पाटनका रथचक्र ज्यापु र कर्कोटक नागराजा मिलेर रातो मच्छिन्द्रनाथलाई नेपाल ल्याएको किम्वदन्ति यो जात्रासँग जोडिएको छ । 

*रातो मच्छिन्द्रनाथ रथारोहणको भिडियो आज बेलुकी समाचारडेस्क युट्युब च्यानलमा आउँदैछ ।

Categorized in संस्कृति