arin enterprises

आज अक्षय तृतीया

SamacharDesk | २०८० बैशाख १०, आइतबार

अक्षय तृतीया बैशाख मासको शुक्ल पक्षको तृतीया तिथिलाई अक्षय तृतीयाको रुपमा मनाउने गरिन्छ ।

पुराण ग्रन्थहरू अनुसार यस दिनमा जो पनि शुभ कार्य गरिन्छ त्यसको अक्षय फल पाइन्छ भन्ने लोक विश्वास छ ।  सबै बाह्र महिनाका शुक्ल पक्षीय तृतीया शुभ छन् तर बैशाख महिनाको तिथि स्वयंसिद्ध मुहूर्तहरूमा मानिन्छ ।

ज्योतिषहरूका अनुसार यस दिनमा गरिएका सबै सत्कर्महरूको अक्षय पुण्य प्राप्त हुन्छ । वर्षको सबभन्दा पवित्र दिन हुनाले अक्षय तृतीयालाई ‘बिघ्नविनाशक दिन’ पनि भनिन्छ ।

गर्मी महिनाको यस दिन भगवानको पूजा, आराधना, दान गर्ने र सातुसर्वत खुवाउने, खानेपानीको व्यवस्था गर्ने जस्ता काम सुस्वास्थ्य र परोपकारका दृष्टिबाट उपयोगी र महत्त्वपूर्ण मानिन्छ ।

हिन्दु कालगणना अनुसार चार स्वयं सिद्ध मुहूर्तहरू छन् ती मध्य एक हो ‘अक्षय तृतीया’ । अक्षयको अर्थ हुन्छ कहिल्यै क्षय नभएर स्थायी रहने । पौराणिक कथा अनुसार विष्णुले परशुराम अवतार लिएकाले यस दिनलाई परशुराम जयन्तीका रूपमा पनि मनाइन्छ ।

परशुरामलाई विष्णुका दश अवतारमध्ये एक मानिन्छ । परशुराम चिरन्जीवी छन् । उनको आयुको क्षय भएन त्यसैले यस तिथिलाई चिरन्जीवी तिथि पनि भनिन्छ ।

चार युगहरूमा सत्य युग र त्रेता युगको प्रारम्भ यसै तृतीया तिथिबाट भएको हो । यसकारणले यस तिथिलाई ‘युगादितिथि’ पनि भनिन्छ ।

चार धामहरूमध्ये एक बद्रीनाथ धामको ढोका यसै दिन अर्थात अक्षय तृतीय तिथि कै दिन खोलिन्छ । भनिन्छ यस शुभ तिथिमा गरिएका दान पूजन हवन दक्षिणा या कुनै पुण्य कार्य अक्षय फल प्रदान गर्ने किसिमको हुन्छ । वेदव्यासले यसै दिन महाभारतको रचना प्रारम्भ गरेका थिए । कुनै पनि शुभ वा मांगलिक कार्य यसै दिन सम्पन्न गर्न सकिन्छ ।

आजको दिन शुक्लपक्ष तृतीयाका दिन सातु र सर्वत दान गर्ने प्रचलन छ । दालचिनी ल्वाङ सुकुमेल अलैंची मह चिनी सख्खर र मिस्री मध्ये एक चिज लगाई सर्बत सँगै र जौको सातु दान गर्ने चलन छ ।

आज बुढाबुढीलाई छाता लौरो र कपडाको जुत्ता दान गर्ने तथा गच्छे भए गाई जमिन अन्न र सुन पनि सत्पात्रलाई दान दिइने गरिन्छ । यसै दिन कैलाशवासी महादेव र हिमालयकी छोरी पार्वतीको विवाह भएको विश्वास गरिन्छ ।

शास्त्रीय विधान अनुसार आज दियो कलश र गणेशलाई पूजी कलस माथि अष्टदल लेखेको तामाको थाली राखेर अष्टदलमा पूजा गरिन्छ ।

Categorized in संस्कृति