arin enterprises

उपनिर्वाचनमा रास्वपालाई २, जसपालाई १ सिट

SamacharDesk | २०८० बैशाख १३, बुधबार

प्रतिनिधिसभा सदस्यका लागि भएको तीनवटै क्षेत्रको परिणाम सार्वजनिक भएसँगै उपनिर्वाचन सकिएको छ ।

राष्ट्रपतिमा रामचन्द्र पौडेल नियुक्त भएसँग रिक्त रहेको तनहुँ १, उपराष्ट्रपति रामसहायप्रसाद यादव नियुक्त भएपछि बारा २ र रवि लामिछानेको नागरिकता विवादका कारण रिक्त रहेको चितवन २ मा उपनिर्वाचन भएको थियो ।

निर्वाचन परिणाम अनुसार तनहुँ १ मा नेपाली कांग्रेस परित्याग गरि राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेका डा. स्वर्णिम वाग्ले विजयी हुनुभएको छ । उहाँ ३४ हजार ९ सय ११ मत ल्याई विजयी हुनुभएको हो ।

त्यस्तै चितवन २ मा रवि लामिछाने दोस्रो पटक विजयी हुन सफल भएको छ । उहाँले पहिलो निर्वाचन भन्दा पनि बढी मत ५४ हजार १७५ मत ल्याई विजयी हुनुभएको छ । 

त्यस्तै हिजो आएको परिणाम अनुसार बारा निर्वाचन क्षेत्र नम्बर–२ बाट जनता समाजवादी पार्टीका उम्मेदवार उपेन्द्र यादव  विजयी भएको छ ।

उहाँले २८ हजार ४१५  मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी  जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहाले २३ हजार ३३४ मत प्राप्त गर्नुभएको छ ।

यादव पाँच हजार ८१ मतको अन्तरमा विजयी हुनुभएको हो । तेस्रो स्थानमा नेकपा ९एमाले० का पुरुषोत्तम पौडेलले १० हजार २१६ मत ल्याउनु भएको छ। 

एक लाख पाँच हजार २४८ मतदाता रहेको यो निर्वाचन क्षेत्रमा ६९ हजार १०७ मत खसेको थियो । 

Categorized in राजनीति