arin enterprises

पानेजु संघले याकःमिसालाई प्रसाद दिन नजाने

SamacharDesk – राम डंगोल | २०८० बैशाख १३, बुधबार

वर्षा र सहकालका देवता बुँग द्यः अर्थात् रातो मच्छिन्द्रनाथको जात्रा सोमबारदेखि सुरु भएको छ ।

रथलाई तानेर सोमबारै गाःबहाल पुर्याउनु पर्ने भएपनि हिजो मात्रै गाःबहाल पुर्याइएको हो । सोमबार जात्राका क्रममा रथ धेरै नै ढल्किएकोले तान्ने स्थिती नभएपछि श्रीबहालमा रोकिएको थियो भने हिजो रथको माथिल्लो भाग जंघःमा तान कसेर सिधा बनाउँदै गाःबहाल पुर्योइएको हो ।

नेपालकै लामो जात्राको रुपमा परिचित रातो मच्छिन्द्रनाथको रथ जात्रा सुरु भइसक्दा पनि यससँग सम्बन्धि एउटा विवाद भने अझै सुल्झेको छैन । विवाद हो प्यंगःथामा हालै राखिएको मच्छिन्द्रनाथको प्रतिमूर्ति र याकः मिसाको मूर्ति ।

गत चैत्र १४ गते पाटन महानगरपालिकाका मेयर चिरिबाबु महर्जन, कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मी तथा सरोकारवाला नियकाहरु, ३२ पानेजु संघ, सांस्कृतिक अभियन्ता, गुठी संस्थान ललितपुर र सुखी गछेँ समाज कीर्तिपुरको उपस्थितिमा बसेको बैठकले प्यंगथाँमा स्थापना गरिएको मच्छिन्द्रनाथसँगै कुमारी केटीको मूर्ति नराखिने निर्णय गरेको थियो ।

तर उक्त प्यंगथाःको मुक्ति जात्रा शुरु भइसक्दासम्म पनि नहटाएपछि ह्यगृब भैरबनाथ तथा ३२ पानेजु संघले परापूर्वकालदेखि चल्दै आएको याकःमिसालाई प्रसाद ग्रहण गराउने जीवित परम्परा यसपालि नगर्ने जनाएको छ ।

सोमवार संघले एक विज्ञप्ती जारी गरी प्यंगःथामा मच्छिन्द्रनाथको प्रतिमूर्ति र याकः मिसाको मूर्ति नहटाएसम्म प्रसाद नलैजाने बताएका छन् ।

‘श्री ह्यगृव भैरवनाथ तथा ३२ पनेजु संघको लिखित सहमति वेगर हजारौं वर्षदेखि कुनै मूर्ति नभएको, मात्र श्री मच्छिन्द्रनाथको प्रतिनिधिपात्र जलपानेजुले प्रत्येक वर्ष थतिटोलदेखि नाङ्गो खुट्टाले हिंडेर याकःमिसालाई प्रसाद ग्रहण गराउनु पर्ने जीवित परम्पराको विरुद्ध कीर्तिपुरको प्यंगःथामा मच्छिन्द्रनाथको प्रतिमूर्ति र याकः मिसाको मूर्ति बनाएर प्रतिस्थापन गरिएकाले मूर्ति रहुन्जेलसम्म प्रसाद ग्रहण गर्ने गराउने कार्य बन्द गर्ने निर्णय भएको’ जारी विज्ञप्तीमा उल्लेख छ ।

संघका अध्यक्ष यज्ञरत्न शाक्यले कीर्तिपुरका सुखी गःछें समाज टोल समितिले १५ मंसिर, २०७९ मा मूर्ति स्थापना गरेपछि ह्यगृब भैरबनाथ तथा ३२ पानेजु संघले लिखित असहमति जनाएको बताए ।

सुखी गःछें समाज टोल समितिलाई पुरातत्व विभागले पनि २ वटा पत्र पठाएर मूर्ति हटाउन ताकेता गरेको थियो । तर पनि मूर्ति हटाउने काम नभएकोले प्रसाद लैजान नसक्ने शाक्यको भनाई छ ।

Categorized in समाज