कतारलाई हराउँदै नेपाल एसिसी प्रिमियर कपको सेमिफाइनलमा
SamacharDesk – आकाश राजोपाध्याय | २०८० बैशाख १४, बिहिबार

एसिसी प्रिमियर कपमा नेपाल समूह ‘ए’ को विजेताको रुपमा सेमिफाइनलमा प्रवेश गरेको छ ।
बिहीबार दिउसो कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको समूह चरणको अन्तिम खेलमा नेपालले कतारलाई ६८ रनले पराजित गर्दै समुह विजेता बनेको हो ।
यो जितसँगै नेपालले ४ खेलबाट ७ अंक जोड्दै समूह विजेता बनेको छ । यसअघि नेपालले पहिलो खेलमा मलेसिया र दोस्रो खेलमा ओमानलाई पराजित गरेको थियो ।
नेपाल र साउदी अरेबियाबीचको मुलपानी मैदानमा तय भएको तेस्रो खेल वर्षाका कारण रद्द भएको थियो । रद्द भएर एक अंक जोडेसँगै नेपाल अन्तिम खेलअघि नै सेमिफाइनलमा पुगेको थियो ।
आज टस हारेर पहिले ब्याटिङ गरेको नेपालले खराब सुरुवात गरेको थियो । नेपाल ४०.२ ओभरमा १ सय ५७ रनमै अलआउट हुँदा नेपाली समर्थकहरुले न्यास्रो मानेका थिए ।
तर सन्दीप लामिछानेले ब्याटिङ र बलिङमा उत्कृष्ट प्रदर्शन गरे । बलिङमा सन्दीपले ९.१ ओभरमा पाँच विकेट लिँदा ३ मेडन राखे भने १४ रन मात्र खर्चिए । यस्तै ब्याटिङतर्फ ५८ बलमा छ चौका प्रहार गरि सर्वाधिक नटआउट ४२ रन जोडे ।
अरु ब्याट्सम्यानहरु सस्तैमा समेत्दा सन्दीप लामिछाने र ललित राजवंशीले अन्तिम विकेटमा ४५ रनको साझेदारी गरेपछि नेपालको स्कोर हेर्न लायक बनेको थियो ।
ललित एलबीडब्लू आउट भएपछि नेपाली इनिङ्स सकिएको थियो । ललितले १७ बलमा १ रन मात्र बनाए ।
बलिङमा कतारका अमिर फारुकले ४ विकेट लिए। ओइस अहमेदले ३ विकेट र मुनवीराले २ विकेट हात पारे ।
नेपालले दिएको १ सय ५८ रनको लक्ष्य पछ्याएको कतार भने २५.१ ओभरमा ८९ रनमै अलआउट भयो ।
ब्याटिङमा कतारका जाहिर इब्राहिम र खुराम शाहजादले सर्वाधिक १५–१५ रन जोडे ।
बलिङमा कतारमाथि लगातार हाबी भएको नेपालका लागि सोमपाल कामीले तीन विकेट लिन सफल भए । यस्तै ललितनारायण राजवंशीले दुई विकेट लिए ।
समूहमा ६ अंक जोड्डै उपविजेताको रुपमा ओमान पनि अन्तिम चारमा पुग्यो ।
अब नेपालले समूह ‘बी’ को उपविजेतासँग आगामी शनिबार सेमिफाइनलमा खेल्नेछ ।
समूह ‘बी’ को खेलमा हङकङ र कुवेतबीच खेल जारी छ ।
सो खेलमा हङकङ विजयी भएमा नेपालले सेमिफाइनलमा युएईसँग खेल्ने छ । कुवेत विजयी भएमा भने कुवेतसँग खेल्ने सम्भावना छ ।
Categorized in स्पाेर्ट्स