arin enterprises

सरकारबाट क्रिकेट खेलाडीहरुलाई जनही ६ लाख पुरस्कार दिने

SamacharDesk – Ram Dangol | २०८० बैशाख २०, बुधबार

सरकारले एसीसी प्रिमियर कप क्रिकेट विजेता खेलाडीहरुलाई प्रति खेलाडी ६ लाख नगद पुरस्कार दिने भएको छ ।

आज बुधबार बसेको मन्त्रिपरिषद बैठकले खेलाडीलाई जनही ६ लाख रुपैयाँ र अफिसियललाई जनही ३ लाख रुपैयाँ नगद पुरस्कार दिने निर्णय गरेको हो ।

हिजो त्रिवि मैदान कीर्तिपुरमा भएको फाइनल खेलमा नेपालले युएईलाई सात विकेटले हराउँदै नेपाल एसीसी प्रिमियर कप च्याम्पियन बनेको हो । जितका लागि युएईले दिएको एक सय १८ रनको सामान्य लक्ष्य पछ्याएको नेपालले ३०.३ ओभरमा तीन विकेटको क्षतिमा लक्ष्य पूरा गरेको हो ।

यससँगै नेपाल आगामी सेप्टेम्बरमा पाकिस्तानमा आयोजना हुने एसिया कपमा छनोट भएको छ । खेलकुद पुरस्कार कार्यविधि अनुसार एसीसी प्रिमियर कप क्रिकेट विजेता खेलाडीले जनही ५ लाख रुपैयाँ पुरस्कार पाउने थिए । मन्त्रिपरिषदले कार्यविधिमा भएको भन्दा १ लाख बढाएर पुरस्कार घोषणा गरेको हो ।

हिजोको जितपछि नेपाल २१ वर्षपछि पुनः एसिया कपमा पुगेको छ । सन् २००२ मा फाइनलमा यूएईसँग ६ विकेटले हारेको नेपाल उपविजेताको रुपमा एसिया कपमा पुगे पनि भारत र पाकिस्तानको आन्तरिक विवादका कारण प्रतियोगिता नै रद्द भएपछि नेपाल प्रतियोगित खेल्नबाट बञ्चित भएको थियो ।

नेपालले पहिलो पटक सन् २००२ मा एसिया कपमा स्थान बनाएको थियो । सिंगापुरमा भएको एसिसी ट्रफीको फाइनलमा स्थान बनाउँदै नेपालले एसिया कपमा स्थान बनाएको थियो ।

त्यो समय फाइनल पुग्ने दुई टोली एसिया कपमा पुग्ने ब्यवस्था थियो । उक्त फाइनलमा नेपाल युएईसँग ६ विकेटले पराजित भएको थियो । नेपाल एसिया कपमा पुगेपनि प्रतियोगिता नै हुन सकेको थिएन ।

भारत र पाकिस्तानसँगको आन्तरिक विवादको कारण त्यो वर्ष एसिया कप नै हुन रद्द भएको थियो । त्यसकै कारण नेपाल एसिया कपमा पुगेर पनि खेल्न पाएको थिएन ।

त्यसपछि भने नेपालले एसिया कपमा स्थान बनाउन सकेको थिएन । पछिल्लो दुई महिनामा जादुमय प्रदर्शन गरेको नेपाली टोलीको एसिया कप यात्रा पूर्व पनि निकै ठूला यात्रा तय गरेको छ ।

संकटमा परेको एक दिवसीय मान्यता आगामी चार वर्षका लागि जोगाएको नेपाल एकदिवसीय विश्वकपको छनोटमा स्थान बनाएको छ । एसीसी प्रिमियर कपको उपाधि जितेर एसियाका ५ टेस्ट मान्यता प्राप्त टोली सहभागी हुने एसिया कपमा छनोट हुन सफल भयो ।

नेपालले एसिया कपको समूह चरणमै पाकिस्तान र भारत जस्ता विश्व क्रिकेटका महाशक्तिसँग खेल्नेछ ।

Categorized in स्पाेर्ट्स