arin enterprises

‘जो जहाँ छ, त्यहिँ सुरक्षित बस्नु राम्रो’ - शाक्य

SamacharDesk – बिराजकाजी राजोपाध्याय | २०७७ बैशाख १७, बुधबार

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले जो जहाँ छ त्यहिँ सुरक्षित बसेर लकडाउनको पूर्ण पालना नै संक्रमण रोकथाम र नियन्त्रणको लागि राम्रो हुने बताउनुभएको छ ।

अहिले लकडाउनको अवस्थामा काठमाडौंबाट कोही पनि बाहिर नजान अनुरोध गर्दै अहिले खानलाई समस्या भएमा सम्बन्धित वडाध्यक्षलाई खबर गर्न कामपा मेयर शाक्यले अनुरोध गर्नुभयो ।

संचारकर्मीहरुसँगको कुराकानीको क्रममा शाक्यले काठमाडौंबाट कोही बाहिर जानु वा बाहिरबाट काठमाडौं आउनु भनेको संक्रमणलाई फैलाउने काम हुनसक्ने बताउनुभयो ।

हिजोको दिनमा कसैलाई पनि काठमाडौंबाट कोहि पनि बाहिर नजानको लागि भन्दा आफुलाई गाली गर्नेहरु नै अहिले मोफसलबाट काठमाडौं आएकाहरुलाई गाली गरेको बसेको भन्दै यस्तो प्रवृत्तीले ठुलो समस्या निम्त्याउन सक्ने शाक्यले आशंका पोख्नुभयो ।

‘अहिले केही मान्छेहरुलाई बाहिर जान दिए भोलि लाखौं मान्छे यहाँ फर्किन सक्छन्’ शाक्यले भन्नुभयो ‘समस्या त्यहीँबाट शुरु हुन्छ । कसलाई क्वारेन्टाइनमा राख्ने, कतिलाई क्वारेन्टाइनमा राख्ने ? सम्भवै हुन्न ।’ 

अहिले लकडाउनमा जिल्लामा गएकाहरुसँगै विदेशबाट नेपाल फर्किनेहरुको व्यवस्थापन कसरी गर्ने भन्ने ठुलो चुनौती अहिले रहेको शाक्यको भनाई थियो ।

सम्भावित चुनौती र यसको समाधानको विषयमा विज्ञहरुसँग छलफल गरिनुपर्नेमा जोड दिँदै यसमा स्थानीय मात्र होइन, प्रदेशको साथै संघीय सरकारले नै योजना बनाउनुपर्नेमा मेयर शाक्यले जोड दिनुभयो ।

यस्तो समस्याको लागि दीगो समाधानमा जान संघीयतालाई पूर्ण कार्यान्वयनमा लग्दै मोफसलमा पनि स्तरीय स्वास्थ्य सेवा, शिक्षाको विकास गर्नुको विकल्प नरहेको शाक्यको भनाई हो ।

राजधानी केन्द्रित विकासले यहाँ अनियन्त्रित शहरिकरण बढ्ने र यसले राजधानीलाई समस्यामाथि समस्या थप्ने काम हुने उहाँको विचार हो ।

समस्यासँगै अवसरको खोजी गर्न सकिने शाक्यको भनाई हो ।

Categorized in स्थानीय