शनिग्रहको थप ६२ वटा चन्द्रमा फेला पर्यो
SamacharDesk – आकाश राजोपाध्याय | २०८० जेठ ३, बुधबार

वैज्ञानिकहरूले शनि ग्रह अन्तर्गत रहेको थप ६२ वटा चन्द्रमा फेला पारेका छन् ।
युनिभर्सिटी अफ ब्रिटिश कोलम्बियाले एक विज्ञप्ति जारी गर्दै यसको जानकारी दिएको हो । योसँगै कूल १ सय ४५ चन्द्रमा सहित शनि सबैभन्दा धेरै चन्द्रमा हुने ग्रह बनेको छ ।
यसअघि शनि ग्रहको ८३ चन्द्रमाहरूलाई अन्तर्राष्ट्रिय खगोलीय संघ (आईएयू)ले मान्यता दिएको थियो ।
कुनै पनि वस्तुलाई ग्रहको चन्द्रमा मान्न आईएयूले आकार, कक्ष, गुरुत्वाकर्षण बल आदिमा तोकेको मापदण्ड पूरा गर्नुपर्ने हुन्छ ।
नयाँ चन्द्रमाहरू आकारमा धेरै सानो, मधुरो भएकाले शनि ग्रहको चन्द्रमा नै भएको पुष्टि गर्न वैज्ञानिकहरुलाई धेरै समय लागेको थियो ।
२४ महिनासम्मको लगातार अध्ययनपछि ती वस्तुहरू चन्द्रमा नै भएको उनीहरूले पुष्टि गरेका हुन् ।
प्राध्यापक एडवर्ड एस्टनको नेतृत्वमा रहेको अनुसन्धान टोलीले शनि ग्रहको यी चन्द्रमाहरू पत्ता लगाउन ‘सिफ्ट र स्ट्याक’ नामक प्रविधिको प्रयोग गरेका थिए ।
यो प्रविधिले आकाशमा भएको वस्तुलाई ट्रयाक गर्ने गरी लगातार तस्वीर खिचिन्छ । जसले गर्दा धमिलो वस्तुसमेत चम्किलो देखिन्छ । यसै मार्फत वैज्ञानिकहरूले २.५ किलोमिटर मात्र व्यास भएका चन्द्रमाहरू समेत फेला पारेका थिए ।
कुनै पनि ग्रहको चन्द्रमा पत्ता लगाउन यो प्रविधि निकै उपयोगी हुने देखिएको छ ।
अन्य ग्रहहरूमा पनि यही प्रविधिमार्फत चन्द्रमाको खोजी गरिने विश्वास गरिएको छ ।
चन्द्रमा पत्ता लगाउन हवाईको मौना केआको डाँडोमा राखिएको क्यानडा–फ्रान्स–हवाई टेलिस्कोप (सीएफएचटी) को सन् २०१९ देखि २०२१ सम्मको डेटा पनि प्रयोग गरिएको थियो ।
यसअघि वृहस्पती ग्रहमा अधिकतम ९५ ओटा चन्द्रमा रहेको तथ्य बाहिरिएको थियो ।
Categorized in विज्ञान-प्रविधी