arin enterprises

प्रधानमन्त्री दाहालको भ्रमण अगाडि “अखण्ड भारत”को विवाद

SamacharDesk | २०८० जेठ १६, मंगलबार

प्रधानमन्त्री पुष्पकमल दाहाल यही जेठ १७ बुधबार ४ दिने भारत भ्रमणका क्रममा नयाँ दिल्ली जानुहुने भएको छ।

भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणमा प्रधानमन्त्री दाहाल उच्च तहको सरकारी टोली सहित भारत भ्रमणमा जानुहुनेछ । भ्रमण क्रममा प्रधानमन्त्री दाहालले भारतका राष्ट्रपति द्रोपदी मुर्मु र उपराष्ट्रपति जगदीप धनकारसँग शिष्टाचार भेटघाट गर्नुहुने छ । उहाँले २० गते समकक्षी मोदीसँग नेपाल र भारतका प्रतिनिधिसहितको उपस्थितिमा भेटघाट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणको पूर्वसन्ध्यामा भारतले आफ्नो नयाँ संसद भवनको उद्घाटन गरेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार उद्‌घाटन गरेको संसद्‌ भवनको भित्तामा ‘अखण्ड भारत’ जनाउने मुरल नक्सा राखिएको छ। जहाँ नेपालको लुम्बिनी, कपिलवस्तुदेखि पाकिस्तानको तक्षशीलासम्मको क्षेत्रलाई समेत समेटिएको छ। नेपालमा सो विषयमा जनस्तरबाटै विरोधहरु भइरहेका छन् ।

जुन अखण्ड भारतको नक्सा भनेर उनीहरुले संसद्‌मा राखेका छन्, त्यसले के संकेत गर्छ ? के उनीहरुको अन्तिम लक्ष्य भनेको नेपाली भू–भाग समेत कब्जा गर्ने हो ? उनीहरुको त्यो सोँचलाई हामीले समर्थन गर्ने हो र ? त्यसैले प्रधानमन्त्रीजीले यसमा स्पष्ट धारणा बनाएर मात्रै भारतको यात्रा गर्नुपर्छ। प्रधानमन्त्रीले यस विषयमा भारतीय दूतावसमार्फत् भारत सरकारको धारणा माग्नुपर्ने सत्ता गठबन्धन र प्रतिपक्षका नेताहरुकै धारणा रहेको छ । 

पूर्व प्रधानमन्त्री तथा सत्ता घटकका नेता डा. बाबुराम भट्टराईले पनि भारतले आफनो नयाँ संसद भवनमा राखिएको नक्साले नेपाल र भारतबीच कूटनीतिक तनाव ल्याउन सक्ने बताएका छन् ।

मंगलबार बिहान आफ्नो सामाजिक संजाल ट्विटरमा लेख्दै डा भट्टराईले भारतका नेपाल लगायतका छिमेकीहरुसगको सम्बन्धमा नयाँ नक्साले थप अविश्वास ल्याउने उल्लेख गरेका छन् ।

नेपाल र भारतका प्रधानमन्त्रीको ट्विट ह्यान्डललाई मेन्सन गर्दै भट्टराईले भारतले नयाँ अखण्ड भारतको नक्साको उदेश्य बारेमा बेलैमा संचार गर्न आग्रह गरेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को १७ देखि २० गतेसम्म हुनेछ । भ्रमण टोलीमा अर्थमन्त्री प्रकाशशरण महत, परराष्ट्रमन्त्री एनपी साउद, भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला, ऊर्जामन्त्री शक्ति बस्नेत र उद्योगमन्त्री रमेश रिजाल पनि भ्रमणमा जाँदै हुनुहुन्छ । 

Categorized in राष्ट्रिय