arin enterprises

विना कुनै प्रमुख अतिथि उद्घोषण तालीमको समापन

SamacharDesk – समाचारडेस्क रिपोर्टर | २०८० जेठ २२, सोमबार

सामान्यतया कुनै औपचारिक कार्यक्रम हुँदा कार्यक्रमको स्वरुप कस्तो होला ? आसन ग्रहण, सभापति, प्रमुख अतिथि, कार्यक्रमको औपचारिक उद्घाटन इत्यादि ।

प्रायको उत्तर यस्तै त आउला । स्वाभाविक पनि हो, औपचारिक कार्यक्रमको स्वरुप यस्तै त हुने हो नि । तर काठमाडौंमा सम्पन्न एउटा कार्यक्रममा यस्तो केही भएन । न त सभापति, न प्रमुख अतिथि न त कुनै अतिथि नै ।

उद्घोषण तालिम को समापन समारोह भएको थियो । उद्घोषण अर्थात मास्टर अफ सेरोमोनि, जसको उपस्थिती बिना त कार्यक्रमको कल्पनै गर्न सकिन्न । उद्घोषण तालीमको समापनमा कार्यक्रम उद्घोषकसम्म पनि थिएन ।

साधारण, सभ्य र साथमा भव्य कार्यक्रम भनी सबैले टिप्पणी गरे ।

तालीममा जम्मा तीन जना प्रशिक्षार्थीहरुको सहभागीता रहेको थियो, इच्छा शाक्य, पाःमिला तुलाधर, साइरा श्रेष्ठ । प्रशिक्षार्थीहरुलाई प्रमाण पत्र वितरण गरियो अभिभावककै हातबाट ।

साइरालाई उनकी आमा रेखाले, इच्छालाई उनका बुबा रत्नले र पाःमिलालाई फुपू रिताले प्रमाणपत्र प्रदान गरिन ।

यी बाहेक कार्यक्रममा आयोजक संस्था शुभश्री एडुकेशन हाउसका प्रवन्ध निर्देशक राजेश्वरमान श्रेष्ठ, संयोजक रबिल श्रेष्ठ, संस्थाका कर्मचारी विनिता तामांग र प्रशिक्षक निर्मल वज्राचार्य गरी जम्मा १२ जना मात्र उपस्थित थिए ।

कार्यक्रममा प्रशिक्षार्थीत्रय, प्रशिक्षक, अभिभावक, आयोजक संस्थाका प्रतिनिधि सबैले विभिन्न विषयवस्तुमा केन्द्रीत भएर आआफ्ना भनाई राखेका थिए ।

एसईई परीक्षा दिएर नतिजा कुरेर बसेका विद्यार्थीहरुलाई१५ दिने उद्घोषण, नेतृत्व र वक्तृत्वकला तालीम दिइएको थियो ।

Categorized in समाज