नर्सको अभावमा घानाको स्वास्थ्य क्षेत्रमा ठूलो संकट
SamacharDesk | २०८० जेठ २६, शुक्रबार

पश्चिम अफ्रिकी देश घानाले आफ्नो स्वास्थ्य क्षेत्रमा ठूलो संकटको सामना गरिरहेको छ । नर्सहरु विदेश पलायन हुँदा कारण घानाले आफ्नो स्वास्थ्य क्षेत्रमा ठूलो संकट सामना गर्नुपरिरहेको हो ।
आर्थिक अवस्था कमजोर भएका देशहरुबाट ठूलो संख्यामा नर्सहरु विदेश गइरहेको बताएको छ । घानामा नर्सहरुको पलायन नियन्त्रण बाहिर हुँदै गएको नर्सहरुको अन्तर्राष्ट्रिय संगठन आईसीएनले जनाएको छ ।
घानाको बिग्रँदो अर्थतन्त्रको कारण राम्रो कमाइको आशामा नर्सहरु उच्च आय भएका राष्ट्रमा पलायन भइरहेका हुन् । सन् २०२२ मा मात्रै घानाका १ हजार २ सयभन्दा बढी नर्स बेलायतको नर्सिङ क्षेत्रमा आएको तथ्यांक छ ।
बेलायतको राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) ले युरोपबाहिरका मुलुकबाट यस्ता कर्मचारीलाई आबद्ध गर्दै आए पनि घानाबाट आधिकारिक रुपमा नर्सहरु नल्याइरहेको जनाएको छ । तर, सामाजिक सञ्जालमा एनएचएसले गरेको विज्ञापन आधारमा नर्सहरुले जागिरका लागि आवेदन दिने गरेका छन् ।
बेलायतकै केही एजेन्सीहरुले भने अफ्रिकी देशबाट नर्स ल्याउन सक्रिय भइरहेको पाइएको छ । जसमा केन्या, नाइजेरिया र जिम्बाबे लगायत देशहरु छन् ।
घानामा नर्सहरुले पाउने तलबले महिनाभर गुजारा गर्न पनि मुस्किल रहेको छ । तर बेलायतमा भने नर्सहरुले घानाको भन्दा सात गुणा बढी तलब पाइने बीबीसीले उल्लेख गरेको छ ।
केपकोस्टका इविम हेल्थ क्लिनिकका दुई जना नर्स बेलायत गएपछि ठूलो असर पुगेको क्लिनिकका प्रमुख चिकित्सक डा.जस्टिस आर्थरले बताए ।
यसैगरी नर्सहरुलाई गुमाइरहनु परे बालबालिकालाई खोप सेवा प्रभावित हुनुको साथै बाल मृत्युदर पनि बढ्ने सम्भावना रहेको आर्थरले भने । नर्सहरुलाई रोक्न नीति ल्याउनुपर्ने सरकारलाई दबाब दिँदा घानाको स्वास्थ्य मन्त्रालयले भने यसबारेमा टिप्पणी गर्न अस्वीकार गरेको छ ।
घानाको एक क्षेत्रीय अस्पतालको नर्सिङ प्रमुख गिफ्टी आर्यीले ६ महिनायता आफ्नो अस्पतालबाट २० जना नर्सहरु बेलायत र अमेरिका गएको बताइन् । नर्सहरु रोजगारीका लागि विदेश नै जान थालेपछि अस्पतालले धेरै बिरामी लिन नसक्ने अवस्थामा पुगेको आर्यीले बीबीसीलाई जनाए ।
जनशक्ति अभावको कारण गम्भीर बिरामीलाई पनि लामो समयसम्म इमर्जेन्सी विभागमा नै राख्नुपर्दा बिरामीको मृत्युदर बढ्ने परिस्थिति देखिएको उनको भनाइ छ ।
विश्व स्वास्थ्य संगठनका अनुसार जनसंख्याको दृष्टिले कम नर्स भएका देशहरुको सूचीमा घाना पनि रहेको छ ।
बेलायतले हालै मात्र १८.६ मिलियन अमेरिकी डलर घाना, नाइजेरिया र केन्याको स्वास्थ्य जनशक्तिलाई बढावा दिन सहयोग गरेको छ ।
नर्सको बदलामा घानालाई सहयोग गर्ने सम्झौता गर्न पनि बेलायत खोजिरहेको छ । नेपालसँग पनि यस्तो सम्झौता भइसकेको बीबीसीले उल्लेख गरेको छ ।
तर, आईसीएनका सीईओ क्याटनले नर्स गुमाइरहेका देशका लागि उक्त सम्झौता मात्र पर्याप्त नहुने बताए ।
Categorized in अन्तर्राष्ट्रिय