arin enterprises

मेयर शाक्यले गर्नुभयो ५०औँ पटक रक्तदान

SamacharDesk – विकाश | २०७७ बैशाख २५, बिहिबार

काठमाडौँ महानगरपालिकाका प्रमुख बिद्यासुन्दर शाक्यले ५० औँ पटक रक्तदान गर्नुभएको छ । 

आज २५६४ औँ बुद्ध जयन्तीको अवसरमा काठमाडौँ महानगरपालिका वडा–२१ मा अवस्थित श्री गणेश युवा क्लबले आयोजना गरेको वार्षिक रक्तदान कार्यक्रममा मेयर शाक्यले ५० औँ पटक रक्तदान गर्नुभएको हो । 

उक्त वडाका स्थानीय वासीन्दा समेत रहेका मेयर शाक्यले क्लवको स्थापनाकाल देखि नै हरेक वर्ष रक्तदान गर्दै आएको बताउनुभयो ।

कोरोना भाइरस रोग (कोभिड–१९) को रोकथामका लागि चैत ११ देखि जारी रहेको लकडाउनको समयमा रक्तस्राव, प्रसूति, दुर्घटना, शल्यक्रियालगायत विरामीलाई रगत अभाव हुन नदिन रक्तदान गरेको शाक्यको भनाई हो । 

‘लकडाउनका कारण विभिन्न संघ–संस्थाले पनि रक्तदानका कार्यलाई स्थगन गर्नुपरेको र रक्तदाताले पनि रक्तदान नगरेका कारण केन्द्रीय रक्तसञ्चार सेवा (ब्लड बैंक) मा रगत अभाव हुनसक्छ,’ उहाँले भन्नुभयो, ‘यो अवस्थामा सामाजिक दूरी कायम गर्दै सुरक्षाका सक्दो उपाय अपनाएर भएको रक्तदानले उपचारमा सहयोग पुग्ने अपेक्षा गरेको छु ।’ 

केन्द्रीय रक्तसञ्चार सेवा (ब्लड बैंक) की निर्देशक डा. मनिता राजकर्णिकारले पनि लकडाउनका बेला रगतको अभाव हुन नदिन सकेसम्म सुरक्षाका सबै उपाय अपनाएर रगत संकलनको गर्ने गरेको जानकारी दिनुभयो । 

‘रक्तदान गर्दा सामाजिक दूरी कायम गरी सुरक्षित भएर स्वस्थ व्यक्तिले मात्रै रक्तदान गर्न सक्ने व्यवस्था गर्दै आएका छौँ । आज पनि ती सबै उपाय अपनाएर रगत संकलन गरेका छौँ’ राजकर्णिकारले भन्नुभयो ।

लकडाउनको पूर्ण पालना गर्दै रगत दान गर्न सकिने उहाँको सुझाव छ । सामाजिक दूरी कायम गर्ने, बढी भिडभाड नगर्ने, रक्तदाताको ज्वरो, प्रेसरलगायत सबै जाँच गर्नुका साथै रगत दान गर्ने ठाउँलाई पनि पहिला नै सफा गरेर मात्रै हामीले रगत लिने उहाँले जानकारी गराउनुभयो ।

उहाँले मोफसलतिर संक्रमितको संख्या बढीरहेकोतर्फ पनि ध्यान दिएर जिल्लाबाट भर्खर आएका, विदेशबाट आएका र उनीहरुको सम्र्पकमा रहेकाहरुलाई सहभागी नगराउने गरेको पनि जानकारी दिनुभयो ।

गणेश युवा क्लवका सचिव अनन्त शाक्यले पनि सकेसम्म सबै मापदण्ड पूरा गरेर रक्तदान कार्यक्रम गरेको जानकारी दिनुभयो । 

उहाँका अनुसार आज ८० जनाले रक्तदान गरेका थिए । रक्तदान गर्ने सबै स्थानीय हुन् ।

Categorized in स्थानीय