महानगरभित्र हिन्दी चलचित्र नचल्ने
SamacharDesk | २०८० आषाढ ३, आइतबार

काठमाडौं महानगरपालिकाले सोमबारदेखि महानगरभित्रका हलमा हिन्दी फिल्मको प्रदर्शन रोक्ने भएको छ।
दक्षिण भारतीय फिल्म आदिपुरुषमा माता सीताबारे राखिएको विवादास्पद संवाद “जानकी भारतीय छोरी हुन्” भन्ने आपत्तिजनक सन्देश चलचित्रको मूल भागबाट हटाउन तीन दिनको समय दिए पनि त्यो कार्य नभएपछि महानगरले भोलिदेखि काठमाडौंका हलहरुमा हिन्दी चलचित्र नचलाउने निर्णय गरेको हो ।
मेयर साहले सामाजिक सञ्जालमा लेख्नुभएको छ, “भारतीय चलचित्र आदिपुरुषमा समावेश भएको जानकी भारतीय छोरी हुन् भन्ने आपत्तिजनक सन्देश उक्त चलचित्रको मूल भागबाट हटाउन हामीले तीन दिनपहिले हटाउन आह्वान गरेका थियौँ।
नेपालको स्वतन्त्रता, स्वाधीनता र स्वाभिमानलाई अक्षुण्ण राखी राष्ट्रहितको रक्षा गर्नु प्रत्येक सरकार, सरकारी निकाय, गैरसरकारी क्षेत्र र नेपाली नागरिकको पहिलो कर्तव्य हुने कुरामा कुनै सन्देह छैन।”
नेपालको संविधानको धारा ५ र ५६ को उपधारा ९६० ले सङ्घ, प्रदेश र स्थानीय सरकारलाई राष्ट्रिय हितको संरक्षण गर्ने जिम्मेवारी तोकेको छ। उक्त चलचित्र यथावत् प्रदर्शन भएमा नेपालको राष्ट्रियता, सांस्कृतिक एकता र राष्ट्रिय विभूतिमाथि प्रहार भई अपूरणीय क्षति हुने देखिएको तथा उक्त चलचित्रबाट नेपालमाथि सांस्कृतिक अतिक्रमण भएको हुँदा यसप्रति महानगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको छ।
काठमाडौं महानगरपालिका क्षेत्रभित्र उक्त राष्ट्रहित विपरीतको चलचित्रको प्रदर्शनलाई निषेध गरेरमात्र देशभित्रका अन्य क्षेत्र र विदेशमा सो चलचित्र प्रदर्शन हुन दिने हो भने त्यसले भ्रामक तथ्य स्थापित गर्ने भएकाले उक्त चलचित्रबाट आपत्तिजनक अंश नहटाएसम्म काठमाडौं महानगरमा कुनै पनि भारतीय चलचित्र प्रदर्शन गर्न भोलिदेखि निषेध गरिएको प्रमुख साहले बताउनुभएको छ।
यसैबीच फिल्मलाई लिएर नेपाललगायत भारतमा पनि चर्काे विरोध भइरहेको बेला फिल्म निर्माता मनोज मुन्तशिरले नेपाल भारतकै हिस्सा हो र भारतबाटै नेपाल अलग भएकोले सीता पनि भारतकै हुन् भन्ने नेपालको राष्ट्रियतामाथि नै आँच आउने अर्काे विवादास्पद अभिव्यक्ति दिएका छन् ।
यतिबेला सो फिल्मको नेपाल लगायत भारतमा समेत फिल्मलाई बन्द गर्नुपर्छ भन्दै भारतीय जनताहरु अदालतसम्म पुगेको खबर छ ।
Categorized in पेजथ्री