थिमिमा सम्पन्न भयो ‘त्वानाः तिनेगु’ पर्व
SamacharDesk – बिराज | २०८० आषाढ ३१, आइतबार

श्रावण कृष्ण चतुर्दशीका दिनमा नेवार समुदायमा ‘गथांमुगः चःर्हे’ पर्व मनाउने प्रचलन रहेको छ ।
यसै क्रममा शनिबार काठमाडौं उपत्यकालगायत नेवार समुदायको बसोबास रहेको विभिन्न स्थानमा आआफ्नो स्थानीय परम्परा अनुसार गथांमुगः चःर्हे मनाइयो ।
गथांमुगः चःर्हेको अवसरमा प्राय देशभरका नेवारहरूले घण्टाकर्णको प्रतीक बनाएर चोक चोकमा राख्ने गरिन्छ । साँझमा सोही घण्टाको प्रतिकलाई ‘आजु जय हा’ भन्दै कराउँदै खोलामा विसर्जन गर्न लगिन्छ ।
यस्तै परम्परा भक्तपुर जिल्लाको मध्यपुर थिमि नगरपालिकामा पनि छ । तर यहाँ घण्टाकर्णको प्रतिकलाई सेलाउनुका साथै अर्को फरक र रमाईलो परम्परा पनि रहेको छ ।
गथांमुगः चःर्हे पर्वको अवसरमा मध्यपुरको बालकुमारीस्थित पोखरीमा राँगाका खुट्टा फालेर रमाइलो गर्ने परम्परा रहेको छ । यसलाई स्थानिय भाषामा ’त्वानाः तिनेगु’ भन्ने गरिन्छ ।
सुरूमा स्थानिय खड्गी समुदायले ल्याएको राँगाका खुट्टालाई पोखरीमा फालिन्छ । र उपस्थित जन समुदायबाट स्वस्फूर्त पौडीबाजहरू पोखरीमा डुबुल्की मारेर सो खुट्टा भेटाउँछन् ।
सोही खुट्टा पानी भित्रबाट भेटाएर आमदर्शकसँग मोलमोलाइको आधारमा बेचिन्छ भने फेरी सो खुट्टालाई पानीमै फालिन्छ ।
स्थानिय तहमा जनप्रतिनिधि बहाल भएसँगै केहीवर्ष यतादेखि मौलिक उत्सव पुनर्जागरण भएको स्थानीय वासिन्दा साथै संचारकर्मी केके मानन्धर बताउँछन् ।
‘करिव डेढ दशक अघिसम्म त्वाःनाः तिनेगु परम्परा थिमिको बालकुमारीस्थित पोखरीमा सीमित थियो । पछिल्लो समय भुलांख्यः, निगुपुखू, सिवाटोल तथा अन्य धेरै पोखरीमा सञ्चालनमा आएको छ’ संचारकर्मी मानन्धरको भनाई छ ।
आधुनिक प्रविधिको विकास नभएको अवस्थामा रमाइलो गर्न बाजेपूर्खाले यस्ता परम्परा सञ्चालनमा ल्याएको मानन्धरको विचार छ ।
यस्तै परम्परा बोडे क्षेत्रको लाछि टोलमा अवस्थित पोखरीमा पनि रहेको छ ।
पोखरीमा राँगाका खुट्टा फालेर मनाउने गथांमुगःको पृथक खाले चलनको ऐतिहासिकताबारे भने स्पष्ट प्रमाण अहिलेसम्म नभेटिएको मानन्धर बताउँछन् ।
Categorized in संस्कृति