‘सुनचाँदी व्यवसाय मात्र नभएर काठमाडौंको मौलिक पहिचान हो’
SamacharDesk – बिराज | २०८० आषाढ ३१, आइतबार

‘सुनचाँदी भनेको व्यवसाय मात्र हैन काठमाडौं अझ भनौ यहाँका नेवारहरुको मौलिक पेशामा पर्छ, हाम्रो आफ्नै पहिचानको पनि पर्न आउँछ ।’
आइतबार काठमाडौंमा काठमाडौं सुनचाँदी व्यवसायी संघले आयोजना गरेको दस दिने तालिमको समापन कार्यक्रममा काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलको भनाई हो ।
मंगलसूत्र, तिलहरी, जन्तर, नौगेडी, चन्द्रहार आदि विभिन्न गहनामा पोते, क्रिष्टल र मोति माला बुन्ने तालिममा सहभागी प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण कार्यक्रममा उपप्रमुख डंगोलले यस्तो भनेकी हुन् ।
नयाँ पुस्तालाई तालिम दिएर यस क्षेत्रलाई व्यवसाय संगै आफ्नै मौलिक पेशालाई पनि पहिचान दिनको लागि पाइला सार्नुपर्नेमा डंगोलले जोड दिइन् ।
‘काठमाडौं महानगरपालिकाले दिने प्राय तालिमहरु सीपमूलक, आयमूलक, रोजगारीमूलक सँगसंगै काठमाडौंको मौलिकतासँग पनि जोडियोस् भन्ने हाम्रो उद्देश्य रहेको छ र त्यसको लागि आउने दिनहरुमा महानगरपालिकाले संघसँग सहकार्य गर्नेछौं’ डंगोलले भनिन् ।
संघका अध्यक्ष सुरेश शाक्यले सुनचाँदीको गरगहनाको व्यवसाय मात्र हुने नभई, यसको प्रत्यक्ष सम्वन्ध स्थानीय धर्म, परम्परा, सँस्कृतिसँग पनि जोडिएको हुनाले राज्यले यस क्षेत्रलाई फरक दृष्टिले हेर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा कामपाका प्रवक्ता एवं १७ वडाअध्यक्ष नविन मानन्धर, नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्य, नेपाल सुनचाँदी व्यवसायी संघका केन्द्र अध्यक्ष महेन्द्ररत्न शाक्यको उपस्थिती रहेको थियो ।
कुसुमवियालाछिस्थित संघको तालिम भवनमा सम्पन्न तालिममा १४ जना प्रशिक्षार्थीहरुको सहभागीता रहेको थियो ।
Categorized in बिजनेस