१४ वर्षीय एरोनको म्यूजिक भिडियो सार्वजनिक हुँदै
SamacharDesk – बिराज | २०८० श्रावण २, मंगलबार

कीर्तिपुरका उदयीमान १४ वर्षीय गायक एरोन महर्जनको गीत ‘सुस्तरी’ को म्यूजिक भिडियो सार्वजनिक हुने भएको छ । अवार्ड विजेता बाल गायक एरोनको म्यूजिक भिडियो आउँदो श्रावण ५ गते शुक्रबार सार्वजनिक हुन लागेको हो ।
शुक्रबार कीर्तिपुरमा एक कार्यक्रम गरी म्यूजिक भिडियो सार्वजनिक गर्न लागिएको हो । कार्यक्रम लगत्तै सो म्यूजिक भिडियो एरोन महर्जनकै युट्युब च्यानलबाट सार्वजनिक हुनेछ ।
टीन एज लभको कथावस्तुमा बनेको म्यूजिक भिडियो कन्सेप्ट गायक एरोनकै आमा राज्यलक्ष्मी महर्जनको रहेको छ ।
म्यूजिक भिडियोमा गायक एरोनको साथमा लूमिला जोशीले अभिनय गरेकी छन् ।
लूमिला पनि सांगितिक परिवारसँगै सम्वन्धित कलाकार हुन् । लूमिला स्वर्गीय गायक द्वारीकालाल जोशीकी नातिनी र गायिका लसता जोशीकी सुपुत्री हुन् भने उनी आफैं गायिका पनि हुन् ।
गीतमा शब्द र संगीत भुवन महर्जनको रहेको छ । म्यूजिक भिडियोको कोरीयोग्राफी अन्नु महर्जनको रहेको छ भने छायाङ्गन दिनेश महर्जनले गरेका छन् । दृश्य सम्पादन, रंग समिश्रण र निर्देशन योवन शाक्यले गरेका छन् ।
गायक महर्जनले यस अघि नेपालभाषाको गीत ‘यःमां’ गाएका थिए भने यसै गीतबाट उनले पेजथ्री नेपालभाषा पिपुल्स च्वाइस अवार्ड र नेपालभाषा स्टार म्युजिक भिडियो अवार्ड जितेका थिए ।
*गायककाे नाम एराेन हुनुपर्नेमा अन्यथा भएकाे सच्याइएकाे छ । –सं.
Categorized in पेजथ्री