राष्ट्र संघको सुरक्षा परिषदमा एआईलाई नियमनको माग
SamacharDesk | २०८० श्रावण ३, बुधबार

आर्टिफिसियल इन्टेलिजेन्स (एआई) बाट उत्पन्न हुनसक्ने जोखिमलाई लिएर संयुक्त राष्ट्र संघमा पहिलो पटक छलफल भएको छ ।
मंगलबार बसेको राष्ट्र संघ अन्तर्गतको सुरक्षा परिषद्को बैठकमा यसबारे छलफल भएको हो ।
परिषद्का सदस्य राष्ट्रहरूले एआईलाई नियमन गर्नुपर्न धारणा प्रस्तुत गरेका थिए ।
चिनियाँ प्रतिनिधिले एआई उद्योगलाई बेलगाम घोडा जस्तो छोड्न नहुने तर्क राख्दा अमेरिकी प्रतिनिधिले भने एआईले मानिसको जीवनलाई प्रभाव पार्नसक्ने भन्दै यस विषयमा गम्भीर हुन चेतावनी दिएका छन् ।
बेलायतका विदेशसचिव जेम्स क्लेभर्लिले एआईले मानिसको जीवनको हरेक पक्षलाई प्रभाव पार्न सक्ने अभिव्यक्ति दिएको अन्तराष्ट्रीय संचार माध्यमले जनाएको छ ।
उनले एआईले विश्वलाई जलवायु परिवर्तनदेखि अन्य कामहरूमा सघाउने भएपनि यसले मिथ्या सूचना फैलाई मानिसहरूलाई हतियार समेत उठाउन प्रेरित गर्न सक्ने जेम्सले दाबी गरेका छन् ।
यसकारण एआई क्षेत्रलाई नियमन र अनुगमन गर्न अत्यावश्यक भएको र यसको लागि विश्वव्यापी रुपमा काम गर्नुपर्ने उनको भनाइ हो ।
छलफलमा राष्ट्र संघका महासचिव एन्टोनियो गुट्रेसले सैन्य तथा गैरसैन्य क्षेत्रमा एआईको प्रयोगले विश्वव्यापी शान्ति र सुरक्षामाथि गम्भीर प्रभाव पार्न सक्ने बताए ।
साथै एआई क्षेत्रलाई मात्रै लक्षित गरी एउटा छुट्टै निकाय खडा गर्नुपर्ने पनि एन्टोनियोको राय थियो ।
यस्तै रूसका प्रतिनिधिले भने सम्बन्धित निकायहरूले यसको नियमन गर्नका लागि काम गरिरहेको कारण यस विषयमा छलफल गर्नु कुनै आवश्यकता नरहेको भनाइ राखेका थिए ।
Categorized in अन्तर्राष्ट्रिय