जरैसम्म पुगेर कारबाही गर्छ : गृहमन्त्रीको श्रेष्ठ
SamacharDesk | २०८० श्रावण ५, शुक्रबार

त्रिभुनवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै एक सय किलो सुन तस्करी प्रकरणमा राजस्व अनुसन्धान विभागले अनुसन्धान तीव्र बनाएको छ ।
राजस्वले अहिलेसम्म सो प्रकरणमा जोडिएका दश जनालाई नियन्त्रणमा लिएको छ । राजस्वन अनुसन्धान विभागबाट खटिएको टोलीले एक चिनियाँ र एक भारतीयसहित दश जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा चिनियाँ नागरिक चि क्वाङ लिङ र तिब्बती मूलका भारतीय नागरिक थिप्तेन छिरिङ रहेका छन् । पक्राउ परेका नेपालीहरुमा दोलखाका रामकुमार भुजेल र दीलिप भुजेल, भोजपुरका हर्कराज राई, ट्याक्सी चालक अशोक लामा, राजन श्रेष्ठ, कृष्ण श्रेष्ठ, पुष्करराज भट्ट र भन्सार एजेन्ट राजेन्द्र राई रहेका छन् ।
यसैबीच उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट अवैध रूपमा सुन भित्र्याउने जोसुकै भए पनि कारबाही गरिने बताउनुभएको छ ।
आज विमानस्थल भन्सार र अध्यागमन कार्यालय अनुगमन गर्न पुगेका गृहमन्त्री श्रेष्ठले अहिलेको घटनाका दोषीलाई कारबाही र आगामी दिनमा यस्ता घटना हुन नदिन नयाँ योजना बनाइने दावी गर्नुभयो ।
सुन आयात घटनाको जरैसम्म पुगेर दोषीलाई कारबाही गरिने गृहमन्त्री श्रेष्ठको तर्क छ । प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारले चालेको भ्रष्टाचारविरोधी अभियानलाई गृह मन्त्रालयले व्यवहारिक रूपमा नेतृत्व गरिरहेको उहाँको भनाइ छ ।
सुन तस्करमा संलग्नमा पक्राउ परेका सबैलाईलाई राजस्व अनुसन्धान विभागमा राखिएको छ भने ६ जनालाई थुनामा राखेर अनुसन्धान गर्न पाटन उच्च अदालतबाट अनुमति पनि लिइएको छ ।
राजश्व अनुसन्धान विभागले पक्राउ परेका चिनियाँले भाडामा लिएको बालुवाटारस्थित फ्ल्याटमा पनि छापा मारेको छ ।
उनको कोठामा ठूल्ठूला बाकस भेटिएको र तिनमा शील गरेर अनुसन्धान अघि बढाइएको राजस्व अनुसन्धान विभागका कर्मचारीले बताएका छन् ।
यस्तै पक्राउ परेका भारतीय नागरिक थाप्तेन छिरिङले भाडामा लिएको पानीपोखरीस्थित फ्ल्याटमा पनि राजस्वले छापा मारेको छ ।
Categorized in राष्ट्रिय