arin enterprises

सरकारले दिएको पदक पुनले गृहलाई फिर्ता दिने

SamacharDesk – बिराज | २०८० श्रावण २४, बुधबार

राष्ट्रिय आविष्कार केन्द्रका महावीर पुनले आफुलाई नेपाल सरकारले दिएको पदक गृह मन्त्रालयलाई फिर्ता दिने भएका छन् । सरकारले दिएको पदक नबेच्नका लागि गृह मन्त्रालयले भनेपछि पुनले उक्त पदक गृह मन्त्रालयमै फिर्ता जाने बताएका हुन् ।

ट्वीटरमा ट्वीट गर्दै पुनले कानुनमा उल्लेख गरे अनुसार ति पदक गृह मन्त्रालयमै फिर्ता जाने बताएका हुन् ।

बीरगंजको कृषि औजार कारखानालाई मर्मत सम्भार गर्न र त्यहाँ ५०० केभिएको ट्रान्सफर्मर राख्नका लागि आवश्यक रकम जुटाउन भन्दै पुनले नेपाल सरकारले दिएको पदक सहित आफुले प्राप्त गरेका अन्य अन्तराष्ट्रिय पदकहरु पनि बेच्न लागेका थिए ।

उनको पदकहरु विक्रीमा भन्दै सामाजिक संजाल साथै विभिन्न अनलाईन मिडियामा आएपछि गृहले पुनलाई पदक नबेच्न भनेको थियो । सरकारले दिएको पदक, विभूषण विक्री गरे, बन्धकी राखे वा विभूषणको मर्यादा विपरित हुने गरी प्रयोग गरे सरकारले विभूषण रद्द गर्न सक्ने भन्दै पुनको नाममा पत्र काटेको थियो ।

लगत्तै पुनले ट्वीट गर्दै पदक गृहमै फिर्ता जाने बताएका हुन् ।

‘गृह मन्त्रालयले कति छिटो थाहा पाएर मलाइ सिंह दरबारमा बोलाई हाल्यो र कानुन पढेर सुनायो । अनि पो थाहा भयो मैले त कानुन उलंघन गरेको रहेछु । कानुन मिच्नेलाई ठोक्नु पर्छ भन्ने कुरामा मेरो पूर्ण सहमत छ । त्यसैले त्यो कानुन मैले मान्नु पर्छ र मान्छु’ पुनले ट्वीटरमा लेखेका छन् ।

ट्वीटको अन्त्यमा उनले नोट पनि राखेका छन् । नोटमा उनले लेखेका छन्, ‘तर अन्तराष्ट्रिय मेडलहरु भने मज्जाले बेच्न पाइन्छ । त्यसो गर्न ति मेडलहरु दिने संस्थाहरुले नेपालको गृह मन्त्रालयले जस्तै कुनै रोकटोक लगाएका छैनन् ।’

पुनले जे सुकै भएपनि आफु पछि नहट्ने भन्नै यस्तो घटनाले झनै उर्जा थपिदिएको समेत भनेको छन् ।

Categorized in राष्ट्रिय