आँखा पाक्ने समस्या बढेपछि हवाई यात्रामा कडाई
SamacharDesk | २०८० श्रावण २८, आइतबार

केही दिनदेखि आँखा पाक्ने समस्या देशैभर फैलिएको छ। आँखा पाक्ने समस्याबाट देशभरका विद्यालयहरु धेरै नै प्रभावित भइसकेका छन् ।
विद्यालयहरुमा आँखा पाक्ने समस्या बढ्दै गएपछि विद्यालय नै बन्द गर्नुपर्ने अवस्था भएको छ । यसको असर अन्तर्राष्ट्रिय उडानमा पनि पर्न थालेको छ। जसका कारण विमान कम्पनीले यात्रुसँग आँखाको परीक्षण प्रतिवेदन खोज्न थालेका छन् तर त्यसको मापदण्ड तय भइसकेको छैन।
देशका विभिन्न स्थानमा आँखा पाक्ने रोगको प्रकोप फैलिँदै गएपछि अन्तर्राष्ट्रिय उडान गर्दै आएका वायुसेवा कम्पनीले उडानमा कडाइ गर्न थालेका छन्। आँखा पाक्ने समस्या भएका बिरामीको चाप बढेसँगै हवाई कम्पनीले उडान योग्यताको प्रमाणपत्र ९फिट टु फ्लाई० खोज्न थालेका हुन्।
नेपालबाट अन्तर्राष्ट्रिय उडान गर्दै आएका नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्सले सूचना जारी गरेर सो रोगसँग सम्बन्धित लक्षण देखिएका यात्रुलाई यात्रा नगर्न आग्रह गरेका छन्।
निगमका प्रवक्ता रमेश पौडेलले आधिकारिक चिकित्सकीय निकायबाट आँखा पाक्ने रोग नभएको वा अन्य व्यक्तिलाई नसर्ने सुनिश्चित भएको प्रमाणपत्र पेस गरेर मात्रै उडानमा सहभागी गराउन थालेको जानकारी दिनुभयो।
उहाँले हवाई उडानपूर्व आफूमा त्यस्तो समस्या देखिएको शङ्का लागेमा वा कुनै लक्षण देखिएमा आँखा परीक्षण गरेर आफू स्वस्थ रहेको यकिन भएपछि मात्रै यात्रामा सहभागी हुन आग्रह गर्नुभयो।
त्यस्तै हिमालय एयरलाइन्सले पनि आँखा रातो हुने रोग आँखा पाक्ने रोग नभएको स्पष्ट चिकित्सकीय प्रमाणपत्र लिएर मात्रै हवाई यात्रा गर्न आग्रह गरेको छ। आँखा पाक्ने समस्या देशव्यापी बन्दा प्रमुख आँखा अस्पतालमा ७० प्रतिशतभन्दा बढी बिरामी आँखा पाक्ने समस्याले आउने गरेका छन्।
तीमध्ये ५० प्रतिशत १५ वर्षमुनिका छन्। काठमाडौँ उपत्यकामा यो समस्या केही कम देखिए पनि उपत्यकाबाहिर भने ७० प्रतिशतमा आँखा पाक्ने समस्या रहेको छ।
आँखा पाक्ने समस्या देखिएका बिरामीले चिसोले तथा बरफले आँखा सेक्ने, सफा पानीले आँखा सफा गर्ने, घरबाहिर जाँदा कालो चस्मा प्रयोग गर्ने, संक्रमित आँखालाई छोएपछि राम्रोसँग हात धुने र बढी समस्या देखिए नजिकैको आँखा अस्पताल वा उपचार केन्द्रमा गई आँखा परीक्षण गर्न सुझाएका छन् ।
Categorized in राष्ट्रिय