arin enterprises

कीर्तिपुरस्थित बाघ भैरवको जात्रा मनाइयो

SamacharDesk – राम डंगोल | २०८० भाद्र २, शनिबार

कीर्तिपुरको प्रख्यात बाघ भैरवको जात्रा हिजो सम्पन्न भएको छ ।

प्रत्येक वर्ष भदौ १ गते सिंह संक्रान्तीका अवसरमा मनाइने सो जात्रामा कीर्तिपुरवासीमात्रै नभइ उपत्यकाभरबाट मानिसहरु सहभागी हुने गर्छन् ।

यस अवसरमा मन्दिरको उत्तरपट्टि रहेको कुण्डमा बाघभैरवको मूर्तिलाई स्नान गराई विधिपूर्वक पूजा गरिएको थियो । जसलाई बाघभैरव न्हवं पनि भनिन्छ ।

हिजो बिहानैदेखि मन्दिर परिक्रमा गर्ने मानिसहरुको घुँइचो लागेको थियो। सिंह संक्रान्तीको अवसरमा कीर्तिपुरस्थित बाघ भैरव मन्दिर १०८ पटक परिक्रमा गरेमा मनले चिताएको पूरा हुने जनविश्वास रहेको छ। यस जात्रालाई कीर्तिपुरवासीहरु बाघ भैरवको जन्मदिनको रुपमा पनि मनाईंदै आएको छ ।

जात्रा नेपाल सम्वत् १०६७ अर्थात् वि.सं. २०१३ सालबाट मात्र सुरु भएको जनश्रुति रहेको छ । काठमाडौँ उपत्यकाको दक्षिण पश्चिम कुनाको डांडा माथि थुम्कोमा अवस्थित बाघभैरव कीर्तिपुर बासिन्दाका इष्टदेवताका रुपमा पनि पुजिने गरिन्छ ।

नेपाल संवत २४३ कालिन शिवदेव द्वितिय कीर्तिपुरका शक्तिको आधार बाघभैरवलाइ केन्द्र बनाइ पाश्चिममा शैव देवता रहने गरि शिवरत र पूर्वमा वौद्ध देवीताको मात्र बाहुल्य रहने गरि देवरत क्षेत्र व्यवस्थित रुपमा बसाईएको इतिहास पाइन्छ ।

बाघ भैरवको किंवदन्ती

कीर्तिपुरको प्राचीन वस्ती नरगो हो । जहाँ खनजोत गर्दा अहलिे पनि पुराना घरका पर्खालको जग पाउन सकिन्छ ।

आख्यानअनुसार कीर्तिपुरस्थित हाल बाघभैरव बस्ती जंगलै जंगलले ढाकिएको बेला नरगोबासी भेडा चराउन जांदा माटोको बाघको मूर्ति बनाएर खेल्ने गर्दथे ।

बाधको अङ्ग बनाउँदा बनाउँदै जिब्रो राख्न पात खोजेर फर्कदा माटोको बाघले साक्षात रूप लिई भेडा सबै खाइदिएछ । आश्चर्यचकित उनीहरु चिच्याएको सुनी नरगोवासी घटनास्थल पुग्दा जंगलको चारैतिर बाघ गर्जेको आवाज सुनेछन् ।

भनिन्छ , त्यसैबेलादेखि नरगोवासी हाल टंगालको हाडीगाउँमा बसाई सरेका हुन् । त्यसैले टंगालस्थित हाडीगाउँलाई नेपालभाषामा नरदे अर्थात् नरगोवासी भनिएको हो ।

बाघबाट पीडित नगा र पांगावासी मिली तान्त्रिकलाई देखाउँदा माटोको बाधमा भैरव प्रवेश गरेकाले शान्त गर्न पूजा समारोहको आयोजना गर्नुपर्ने सुझाव दिएछन् ।

सोही दिनको स्मरणमा प्रत्येक वर्ष भाद्र सिंह संक्रान्तिको दिन बाघभैरवलाई रांगा , भेडा र बोका बली दिई खुसी पार्ने र भव्य खटजात्रा गर्ने परम्परा चल्दैआइरहेको छ ।

Categorized in संस्कृति