arin enterprises

देशलाई विश्वकप दिलाउँदा खुसियाली मनाउन पाइनन कार्मोनाले

SamacharDesk – बिराज | २०८० भाद्र ५, मंगलबार

अष्ट्रेलिया र न्युजिल्याण्डले संयुक्त आयोजनामा सम्पन्न फिफा महिला विश्वकप तपाईले हेर्नुभयो ? हेर्नु भएको छैन भने पनि नतिजा त थाहा नै पाइसक्नु भयो होला ।

यसपालि महिला विश्वकपको ट्रफि स्पेनले उचाल्यो । विश्वकै सर्वाधिक चर्चित खेल फुटबलमा महिलातर्फको सबैभन्दा प्रतिष्ठित उपाधि, विश्वकप । यस्तो उपाधि जितेपछि विजेता खुसी नहुने त कुरै रहेन ।

विश्वकप फाइनल खेलमा रेफ्रिले अन्तिम सिट्टि बजाउने वित्तिकै स्पेनिस खेलाडिहरु मैदानमा उफ्रिन थाले, कति खेलाडी त भावुक हुँदै हर्षको आँसु नै बगाउन थाले, एकअर्कालाई आँगालोमा बाँध्दै खुसी साटासाट गर्न थाले ।

तर जसले स्पेनलाई उपाधि जिताउन निर्णायक भूमिका खेलिन्, उनैले जितको खुसियाली मनाउन सकिनन् ।

अष्ट्रेलियाको सिड्नीस्थित अष्ट्रेलिया स्टेडियममा सम्पन्न इङल्यान्डको विरुद्धको फाइनल खेल १–० गोल अन्तरले जित्दै स्पेनले महिला विश्वकपको ट्रफि चुमेको थियो । र स्पेनलाई उपाधि दिलाउन निर्णायक गोल गरेकि थिइन् स्पेनिस टोलीकी कप्तान ओल्गा कार्मोनाले । देशलाई विश्वकप जस्तो उपाधि दिलाउन निर्णायक भूमिका खेलेर पनि उनी दुःखी नै थिइन् ।

खेल लगत्तै उनले जुन खबर सुन्नुपर्यो, त्यसले शायद उनलाई आफुले टेकेको जमिन भास्सिएको जस्तो भयो होला, छाङ्गाबाट खसेको जस्तो भयो होला ।

खेल लगत्तै उनलाई आफ्नो बुबा टोमस कार्मोना मेनाको निधनको खबर सुनाइयो ।

‘मलाई थाहा छ, तपाईंले आज राति मलाई हेरिरहनुभएको छ र तपाईं मप्रति गर्व गरिरहनु भएको छ । रेस्ट इन पिस ड्याड’, बुबाको निधनको खबर पाएपछि कार्मोनाले सामाजिक सञ्जालमा ट्वीटरमा लेखिन् ।कार्मोनाले आफ्नो पोस्टमा विश्वकपको मेडललाई चुम्बन गरेको तस्विर राखेकी थिइन् ।

उनका बुबा लामो समयदेखि नै अस्वस्थ रहेका थिए । महिला विश्वकपको फाइनल खेलको दुई दिन पूर्व अर्थात शुक्रबारका दिन कार्मोनाका पिताको निधन भइसकेको थियो । तर, देशको प्रतिष्ठाको लागि खेलमा संघर्षरत कार्मोनालाई यो खबर सुनाइएन ।

फाईनलमा उनको व्यक्तिगत प्रदर्शनदेखि टोलीको नेतृत्वमा असर पर्नसक्ने सम्भावनलाई मध्यनजर गर्दै स्पेनिस फुटबल फेडेरेसनले उक्त कुरा गोप्य नै राखेका थिए ।

अष्ट्रेलियामा भएका स्पेनिश अफिसियलहरुलाई समेत कार्मोनाले गोल गरेपछि यसबारे थाहा दिइएको थियो ।

छोरीले गोल गर्दै उत्कृष्ट खेलाडीको उपाधी जित्नुका साथै आफ्नो देशले विश्वकप जितेको भने हेन पाएन्न ।

देशलाई विश्वकप जिताउन आफुले निर्णायक भूमिका खेलेको कुरा आफ्ना बुबालाई सुनाउन उनी लालायित थिइन् शायद ।

तर न त, कार्मोनाले यो खबर आफ्ना बुबालाई सुनाउन पाइन्, न त उनका बुबाले नै देशले विश्वकप जितेको र सो उपाधि जित्न आफ्नी छोरीले खेलेको भूमिका हेर्न पाए ।

Categorized in स्पाेर्ट्स