भक्तपुरमा आज जनै पूर्णिमा र गुन्हुँपुन्ही मनाईंदै
SamacharDesk | २०८० भाद्र १३, बुधबार

तिथिमा भएको गडबडीका कारण भक्तपुरवासीहरुले आजै जनै पुर्र्णिमा र गुन्हुँ पुन्ही मनाइएको छ ।
यो वर्ष गाईजात्रा र जनैपूर्णिमा एकैदिन परेपछि यहाँ अघिल्लो दिन नै जनैपूर्णिमा मनाइएको हो । भक्तपुरमा तिथिमितिमा अन्योल उत्पन्न भए तलेजुमा जुन दिन चाडपर्व मनाइन्छ, सोही दिन सर्वसाधारणले पनि मनाउने प्रचलन छ ।
गाईजात्रा र जनैपूर्णिमा एकैदिन परेकाले अन्योल उत्पन्न भएको भन्दै भक्तपुर नगरपालिकाले तलेजुका पुजारीहरूसँग छलफल गरेर आजै जनैपूर्णिमा मनाएको हो ।
भक्तपुरमा चाडपर्वका विषयमा अन्योल भएमा तलेजुका मूल पुरोहित, राजोपाध्याय एवं पुजारीहरू कर्माचार्य र जोशीहरूले आपसमा ज्योतिष विज्ञानका आधारमा छलफल गरी चाडपर्व मनाउने तिथि तोक्ने प्रचलन छ ।
सोहीअनुसार भक्तपुर नगरपालिकाले तलेजुका मूल पुजारी र पुजारीहरूसँग छलफल गरी भदौ १३ गते जनैपूर्णिमा र १४ गते गाईजात्रा मनाउने भएको हो ।
यता काठमाडौंमा भने भोलि विहीबार १४ गते जनैपुर्णिमा तथा गन्हुँ पुन्ही मनाईंदैछ भने १५ गते सापारु मनाईंदैछ ।
Categorized in संस्कृति