उपाध्यक्ष नेम्वाङ रहेनन्
SamacharDesk | २०८० भाद्र २६, मंगलबार

नेकपा एमालेका उपाध्यक्ष एवं संविधानसभाका अध्यक्ष सुवास नेम्वाङको ७१ वर्षको उमेरमा हृदयाघातबाट निधन भएको छ ।
आफ्नै निवासमा १ बजे राति अचानक हृदयघात भएपछि उहाँलाई महाराजगञ्जस्थित शिक्षण अस्पताल लगिएको थियो । अस्पताल पुग्नासाथ उहाँलाई मृत घोषित गरिएको थियो । हृदयघात भएपछि राती १ः२० बजे अस्पताल पु¥याए पनि अस्पताल ल्याउँदा नै उहाँको शरीर चिसो भइसकेको अस्पतालले जनाएको छ ।
शिक्षण अस्पतालले नेता नेम्वाङको ४ः२० मिनेटमा औपचारिक रुपमा निधन भएको घोषणा गरेको हो । स्व. नेम्वाङ वाथरुम जाने क्रममा ढल्नु भएको र परिवारका सदस्यले तत्कालै उपचारका लागि अस्पतालमा पुराएका थिए तर उहाँको बाटोमै निधन भएको थियो ।
पटक पटक इलाम क्षेत्र नं २ बाट निर्वाचित हुनुभएका नेम्वाङ २००९ फागुन २८ गते इलाममा जन्मनु भएको थियो । उहाँ इलाम २ बाट २०५६ सालदेखि संसदीय चुनावमा निरन्तर विजयी हुँदै आउनु भएको थियो ।
२०४८ सालदेखि २०५२ सालसम्म उहाँ राष्ट्रिय सभाका सांसद बन्नु भएको थियो । २०६३ सालमा पहिलोपटक सभामुख बन्नुभएका नेम्वाङ अन्तरिम संसदमा समेत सभामुख बन्नु भएको थियो ।
पहिलो र दोस्रो संविधान सभाका अध्यक्ष र सभामुख बन्नुभएका नेम्वाङकै कार्यकालमा २०७२ असोज ३ गते संविधान जारी भएको थियो ।
उहाँ संसद्को सार्वजनिक लेखा समिति अध्यक्ष समेत बन्नुभएका नेम्वाङ कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री समेत हुनुभयो । सभामुख र दुवै संविधानसभाका अध्यक्षको भूमिका निर्वाह गरिसक्नु भएका नेम्वाङ नेपाल बार एसोसिएसनको महासचिवसमेत हुनुभएको थियो ।
यसैबीच स्व. नेम्वाङको पार्थिव शरीरलाई सरकारले संविधान निर्माणको क्रममा खेलेको भूमिकाको उच्च मूल्यांकन गर्दै राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने र अन्त्येष्टिको दिन देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
अन्त्येष्टि हुने दिन नेपालभरका सरकारी कार्यालय, विदेशस्थित नेपाली दूतावास र नियोगहरुमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णयसमेत सरकारले गरेको छ ।
Categorized in राष्ट्रिय