arin enterprises

संविधान दिवस मनाईंदै

SamacharDesk | २०८० आश्विन ३, बुधबार

आज असोज ३ अर्थात् संविधान दिवस, २०७२ साल असोज ३ गते संविधानसभाबाट नयाँ संविधान जारी भएको दिनको सम्झनामा आज देशभर संविधान दिवस मनाईदैछ ।

देशभरका सरकारी तथा निजी कार्यालय, विदेशस्थित कुटनीतिक नियोग, राजनीतिक दल, नागरिक समाज, सङ्घ संस्थालगायतले विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाउँदैछन् ।

सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले २०७२ असोज ३ गते ‘नेपालको संविधान २०७२’ जारी भएको घोषणा गर्नुभएको थियो ।

संविधान निर्माण भएर कार्यान्वयनमा आएको आठ वर्ष पूरा भएको छ । यो संविधानले नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्रमा परिणत गरेको थियो । नयाँ संविधान अनुसार मुलुकमा संघ, प्रदेश र केन्द्रका दुई वटा निर्वाचन सम्पन्न भईसकेका छन् ।

यसबीचमा पटक पटक संविधान संशोधन गरिएको छ । संविधान कार्यान्वयनका क्रममा बारम्बार आइपर्ने अप्ठेराहरु सर्वोच्च अदालतले निवारण गर्नुपर्ने अवस्था दोहोरिएको छ ।

संविधानसभाबाट संविधान बनेपछि मुलुकमा शासकीय सुशासन, समृद्धि र अमनचयन कायम हुने जनअपेक्षामाथि भने तुषारापात भएको छ । माओवादीको दश वर्षे हिंसात्मक युद्धको समेत ब्यवस्थापन गर्नुपर्नेमा शान्ति प्रक्रियाका महत्वपूर्ण विषय अझै पूरा हुन सकेका छैनन् ।

देशमा लोकतन्त्र भन्दा नेतातन्त्र हावी हुँदा विधिको शासन झन् कमजोर बनेको छ । जसका कारण आम मानिसमा चरम निराशा छाएको छ । आठ वर्षको अभ्यासले संघीय प्रणालीको औचित्यमाथि पनि गम्भीर प्रश्न खडा गरेको छ ।

यसैबीच बुधवार बिहान टुँडिखेलमा भव्य समारोहका बीच सरकारले संविधान दिवस मनाएको छ । समारोहमा नेपाली सेनाको टोलीले शान्तिको प्रतिक परेवा उडाएका थिए । 

त्यस्तै हेलिकप्टरबाट पुष्पवृष्टि, सुरक्षा निकायका विभिन्न समूहहरूले कवाज र विभिन्न सांस्कृतिक समूहले झाँकी प्रदर्शन गरेका थिए ।

समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, मन्त्रीहरू, सांसद, कर्मचारी, सुरक्षा अंगका प्रमुखलगायत सहभागी छन् ।

सार्वभौम संविधान सभाबाट २०७२ असोज ३ गते संविधान संघीयतासहितको संविधान जारी भएको थियो । त्यसैले हरेक वर्ष असोज ३ गतेलाई राष्ट्रिय दिवसको रुपमा मनाइन्छ ।

Categorized in राष्ट्रिय