सरकार–शिक्षक वार्ता निष्कर्षविहिन
SamacharDesk | २०८० आश्विन ४, बिहिबार

शिक्षा विधेयकप्रति असहमति जनाउँदै राजधानी केन्द्रीत आन्दोलनमा उत्रिएका शिक्षक महासंघ र सरकारबीचको वार्ता निष्कर्षविहिन बनेको छ ।
सिंहदरबारमा आज विहान उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको संयोजकत्वमा भएको वार्ता निष्कर्षविहीन भएको हो । एक घन्टाभन्दा बढी छलफल भए पनि कुनै सहमति हुन नसकेको हो ।
शिक्षामन्त्री अशोक राइ तथा शिक्षा मन्त्रालयका अधिकारीहरु समेत सहभागी वार्तामा गृहमन्त्री श्रेष्ठले शिक्षकहरूलाई पढाइ नरोक्न आग्रह गरेकोमा शिक्षक प्रतिनिधिहरुले माग पूरा नभई आन्दोलन नरोकिने बताएका थिए ।
उनीहरुले आज दोस्रो दिन पनि प्रदर्शन जारी राखेका छन् । शिक्षकहरुको प्रदर्शनबाट मातीघर मण्डलादेखि बानेश्वरसम्मको ट्राफिक व्यवस्था अस्तव्यस्त बनेको छ । यस क्षेत्रमा सवारी साधन प्रवेश निषेध हुँदा काठमाडौं लगायत ललितपुरको ट्राफिक व्यवस्थापनमा समेत असर पुगेको छ ।
आन्दोलनमा उपत्यका बाहिरका ७४ जिल्ला र उपत्यकाका ३ जिल्लाका शिक्षकहरु आन्दोलन उत्रिंदा विद्यार्थीको पढाई रोकिएको छ । नेपाल शिक्षक महासंघले नै पढाइ रोकेर आन्दोलनमा आउन भनेपछि शिक्षकहरु विद्यालय बन्द गरेर आन्दोलनमा उत्रिएका हुन् ।
काठमाडौं उपत्यकामै पनि आज सामुदायिक विद्यालयमा पठनपाठन हुन सकेन । काठमाडौं महानगरपालिकाले विद्यालय बन्द गरेमा कारबाही गर्ने चेतावनी दिंदा दिंदै पनि काठमाडौंका सामुदायिक विद्यालयमा आज पढाई भएन ।
विद्याथीहरु विद्यालयमा गए पनि शिक्षकहरुले कक्षा लिएनन् भने अधिकांश विद्यालयमा कुनै पनि शिक्षक उपस्थित नरहेको पाइएको छ । विद्यालय कर्मचारीहरुले विद्यालय पुगेका विद्यार्थीहरुलाई कक्षा नहुने भन्दै फर्काएका थिए । ललितपुर र भक्तपुरमा पनि आज सामुदायिक विद्यालयहरु सुनसान रहे ।
यता, काठमाडौं महानगरपालिकाले भने महानगरभित्रका सवै सामुदायिक विद्यालयहरुमा नगर प्रहरी खटाएको छ ।
पठनपाठन बन्द नगर्न गरेको आग्रहको शिक्षकहरुले बेवास्ता गरेपछि विद्यालयहरुको अवस्था बुझ्न महानगरभित्रका ८९ वटै विद्यालयमा नगर प्रहरी पठाइएको हो ।
Categorized in राष्ट्रिय