पहिचानको मुद्दा स्थापित गर्ने अध्यक्ष प्रजापतिको भनाई
SamacharDesk – बिराज | २०८० आश्विन ९, मंगलबार

नेवाः राष्ट्रिय समितिका नव निर्वाचित अध्यक्ष श्यामकृष्ण प्रजापतिले समितिलाई पहिचान र समावेशी समानताको आन्दोलनमा सशक्त ढङ्गले अघि बढाउने बताएका छन् ।
जनता समाजवादी पार्टी (जसपा) नेपाल अन्तर्गतको समितिमा पुनः अध्यक्षमा चयन भएका प्रजापतिले समाचारडेस्कसँग कुरा गर्दै यस्तो बताएका हुन् ।
‘हामी सुरुदेखि नै पहिचानसहितको संघीय लोकतन्त्रको पक्षमा उभिँदै आएका छौं । यहि मुद्दालाई अब नेवाः राष्ट्रिय समितिको नयाँ कार्य समितिबाट अझ सशक्त ढङ्गले अगाडी बढाउने छौं’ अध्यक्ष प्रजापतिले भने ।
गत असोज ३ गते काठमाडौंमा सम्पन्न एक कार्यक्रमका बीच समितिको नयाँ कार्य समिति चयन गरिएको थियो । समितिको सर्वसम्मत चयन भएको २७ सदस्यीय नयाँ कार्यसमितिको उपाध्यक्षमा ओमकृष्ण श्रेष्ठ, शर्मिला सुवाल र शंकर लिम्बू रहेका छन् भने महासचिबमा गणेश आचार्य चयन भएका छन् ।
कमल लामा, सुनिता दुलाल र सुरेन्द्र महर्जन सचिवमा चुनिँदा कोषाध्यक्षमा सुनिता कुमारी योन्जन लामा चयन भएकी छन् ।
कार्यक्रममा संघीय सांसद जसपा नेपालका कार्यकारिणी सदस्य सुशीला श्रेष्ठको साथमा, नेवाः राष्ट्रिय समितिका इन्चार्ज राधाकृष्ण महर्जन, सह इन्चार्ज भगवती सुवेदी, बागमति प्रदेश सह इन्चार्जद्वय लालबहादुर तामाङ र पन्चलाल महर्जन लगायतको उपस्थिती थियो ।
Categorized in राजनीति