चाडवाडको मुखैमा इन्धनमा मूल्यवृद्धि
SamacharDesk | २०८० आश्विन १४, आइतबार

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ।
शनिबार बसेको निगम सञ्चालन समितिले आइतबारदेखि लागू हुने गरी डिजेल, पेट्रोल, हवाई इन्धन र खाना पकाउने ग्याससहित सबै पेट्रोलियम पदार्थको मूल्य बढाएको हो।
निगमले दशैं तिहार जस्ता चाडबाडको मुखमा इन्धनको मुल्य बढाएर सरकारले उपभोक्ताको ढाड सेकेको छ । खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिण्डर २ सय १५ रुपैयाँ मुल्य बढाईएको छ ।
नयाँ मुल्य अनुसार अब एक सिलिण्डर ग्यासको मुल्य २१ सय १० रुपैंया पुगेको छ । निगमका अनुसार अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढेर आएकाले स्वचालित मूल्य प्रणाली अनुसार इन्धनको मूल्य समायोजन गरिएको जनाएको छ ।
यस्तै निगमले गएरातिदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर दुई रुपैंया, डिजेल तथा मट्टितेलमा प्रतिलिटर ६ रुपैंया तथा हवाइ इन्धन आन्तरिक र अन्तर्राष्ट्रिय दुबैमा प्रतिलिटर ८ रुपैयाँ बढाइएको छ ।
काठमाडौंमा अब पेट्रोल लिटरको १८५ रुपैंया तथा मट्टीतेल र डिजेल प्रतिलिटर १७९ रुपैंया पर्नेछ । इण्डियन आयल कर्पोरेशनबाट हिजो नयाँ खरिद मूल्य आएपछि नेपालमा पनि मूल्य वृद्धि भएको निगमले जनाएको छ ।
Categorized in राष्ट्रिय