arin enterprises

उपत्यका प्रवेश गर्ने नाका सील गर्न कामपाले गृहलाई आग्रह गर्ने

SamacharDesk – बिराजकाजी राजोपाध्याय | २०७७ जेठ ५, सोमबार

काठमाडौँ महानगरपालिकाले लकडाउन अवधिभर उपत्यका प्रवेश गर्ने सबै नाकाहरु सिल गर्न सरोकारवाला निकायहरुमा पत्राचार गर्ने निर्णय गरेको छ ।

कामपाको ४६औं विशेष नगर कार्यपालिका बैठकले लकडाउन उल्लंघन गर्दै उपत्यका प्रवेश भइरहँदा यहाँ कोरोनाभाइरस संक्रमणको खतरा वढ्दै गएकोले नाकाहरु सिल गर्न गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई आग्रह गर्ने निर्णय गरेको हो ।

पछिल्लो समय विभिन्न वहानामा, लुकिछिपि वा शक्तिको आडमा काठमाडौं भित्रिने क्रम बढेको र बाहिरी जिल्लाबाट आएकामै संक्रमण पुष्टि हुन थालेपछि उपत्यका प्रवेश गर्ने नाकामा कडाई गर्नका लागि कामपाले संघीय सरकारसँग निरन्तर माग गर्दै आएको छ ।

यसअघि नै उपत्यका नगरपालिका फोरमले कोभिड १९ सम्वन्धी उच्चस्तरीय समन्वय समितिका संयोजक समेत रहेका उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापालाई भेटेर उपत्यका प्रवेश गर्ने सीमा नाकामा कडाई गर्न माग गरिसकेको छ ।

यसपछि पनि सुविधा वा पासको दुरुपयोग गर्दै अथवा लुकिछिपि उपत्यका प्रवेश गर्ने क्रम भने रोकिएको छैन ।

यस्तो अवस्थामा विना अनुमति लुकिछिपी काठमाडौं उपत्यका प्रवेश गर्ने व्यक्तिको साथै निजलाई सहयोग पुर्याउने व्यक्ति समेतलाई कानुन बमोजिम कार्वाही गर्न कामपाले गृह मन्त्रालयलाई आग्रह गर्ने भएको छ ।

‘काठमाडौं उपत्यका एउटा शान्त तलाउ जस्तो थियो, तर अब शान्त तलाउमा ढुङ्गा हानेको जस्तो अवस्था भएको छ’, काठमडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले भन्नुभयो । ‘जिम्मेवार व्यक्तिहरुले समेत यहाँ सुविधाको दुरुपयोग गर्दै, पासको दुरुपयोग गर्दै, शक्तिको आडमा लकडाउन उल्लंघन गरिदिँदा हिजोसम्म ढुक्कसाथ सुरक्षित भन्न सकिने काठमाडौं उपत्यका असुरक्षित भएको छ ।’

काठमाडौं महानगरपालिकाको कार्यपालिका वैठकले काठमाडौंमा कोरोनाभाइरस कोभिड १९ को रोकथाम र नियन्त्रणतर्फ जोड दिँदै विभिन्न निर्णयहरु गरेको छ ।

कार्यपालिका वैठकले अत्यावश्यक कामको लागि काठमाडौं उपत्यका आउनेहरुले प्रस्थान विन्दुमै कोरोना भाइरस सम्बन्धी स्वास्थ्य परीक्षण गराई संक्रमण नभए मात्रै उपत्यकामा प्रवेश गर्न अनुमति दिने व्यवस्था मिलाउन समेत गृह मन्त्रालयलाई अनुरोध गर्ने निर्णय गरेको छ ।

‘लकडाउन अवधिमा उपत्यका भित्रिनेलाई पास जारी गर्दा नै यहाँ आई बसोबास गर्ने स्थानको विस्तृत विवरण, सम्पर्क फोन नं. र घरधनीको नाम सहितको विवरण लिइ काठमाडौं महानगरपालिकालाई उपलब्ध गराउन आवश्यक व्यवस्था मिलाउन अनुराधे गर्ने निर्णय वैठकमा भएको छ’ कामपा प्रवक्ता साथै कामपा १५ वडाध्यक्ष ईश्वरमान डंगोलले जानकारी दिनुभयो ।

कामपा क्षेत्रमा आवश्यक संख्यामा क्वारेन्टाइन सञ्चालन र व्यवस्थापन गर्न सःशुल्क क्वारेन्टाइन समेत सञ्चालनको समेत व्यवस्था मिलाउन जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई पत्राचार गरिने भएको छ । 

अत्यावश्यक सेवामा संलग्न जनप्रनिधिहरु, कर्मचारीहरु, स्वास्थ्यकर्मीहरु, सञ्चारकर्मी, सुरक्षाकर्मी र स्वयमसेवकहरुलाई निःशुल्क परिक्षणको व्यवस्था मिलाउन पनि कामपाले संघीय सरकारलाई आग्रह गरेको छ । 

लकडाउनको अवधि पनि लम्बिदैँ गएको अवस्थामा चोरी, घरेलु हिंसा, मानसिक रोग जस्ता सामाजिक समस्याहरु देखापर्ने सम्भावना देखिएकोले सुरक्षा निकायको भूमिका र सक्रियता थप प्रभावकारी बनाउन पनि गृह मन्त्रलायलाई अनुरोध गरिने भएको छ ।

कामपका सबै वडा समितिहरुले लकडाउनको अवधिमा विदेश वा उपत्यका वाहिरबाट आएर बसोबास गर्दै आएका व्यक्तिको सम्पुर्ण विवरण राख्नुका साथै निगरानी गर्ने र स्वास्थ्य परीक्षण गरे नगरेको विवरण अद्यावधिक गर्ने व्यवस्था मिलाउने र लक डाउनको अवधिमा राहत वितरणको कार्य सञ्चालन भइरहेकोमा अब श्रममा आधारित राहत सहयोग मात्र वितरण गर्ने ब्यवस्था गर्नका लागी कार्यविधि तयार गरी कार्यान्वयन गरिने भएको छ ।

Categorized in स्थानीय