बडादशैंको सातौं दिन, घरघरमा फुलपाती भित्र्याईँदै
SamacharDesk – बिराज | २०८० कार्तिक ४, शनिबार

आज आश्विन शुक्ल सप्तमी, अर्थात बडादशैंको सातौं दिन । आज सबैले आआफ्नो दशैंघर वा आगम घरमा फूलपाती भित्र्याउँदैछन् ।
आजको दिनमा सबैले फूलपातीको रुखमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष घरमा भित्र्याएर दशैं घर वा आगम घरमा स्थापना गरी विधिपूर्वक पूजा गर्ने गरन्छ । यसलाई नवपत्रिका पनि भनिन्छ ।
फूलपातीको रुपमा भित्र्याइएको सामग्रीलाई नौ मातृकाको प्रतिकको रुपमा लिइन्छ ।
केरालाई ब्रह्मायणी, दारिम रक्तदन्तिका, धानलाई लक्ष्मी, हलेदो दुर्गा, मानवृक्ष चामुण्डा, उखु कालिका, बेलपत्र शिवा, अशोक शोकरहिता र जयन्तीलाई कात्तिकीदेवीको प्रतिकको रुपमा लिएर तिनै मातृकाहरुको आह्वान गरी पूजा गर्ने परम्परा रहेको छ ।
यसैबीच आजै गोरखाबाट ल्याइएको फूलपाती हनुमानढोका दरबारको दसैंघरमा भित्र्याउने परम्परा पनि रहेको छ ।
गोरखाको फुलपाती धादिङ जिल्लाको जीवनपुरसम्म दसैंघरका पुजारीसहित मगर जातिका छ जनाले ल्याउने गर्छन् भने जीवनपुरदेखि काठमाडौंको जमलसम्म काठमाडौं हनुमानढोकाको दशैंघरका ५ जना ब्राह्मणले ल्याउने गरिन्छ ।
तत्कालीन गोरखाका राजा पृथ्वीनारायण शाहले काठमाडौँको हनुमानढोका दरबारबाट राजकाज सुरु गरेपछि बडादशैंमा गोरखा दरबारको दशैं घरबाट फूलपातीसहितको डोली काठमाडौँको हनुमानढोका दरबार भित्र्याउने प्रचलन सुरु गरेका थिए ।
Categorized in संस्कृति