arin enterprises

नवरात्रको सातौं दिन, कालरात्रीको उपासना हुँदै

SamacharDesk – बिराज | २०८० कार्तिक ४, शनिबार

बडादशैंमा कालरात्रीको आज सातौं दिन, कालरात्रीको पूजा अर्चना र उपासना हुँदैछ ।

माता दुर्गाको सातौं रुप कालरात्री हो । रक्तबीज नामक असुरको वध गर्न माता दुर्गाले कालरात्रीको रुप लिएकी हुन् ।

फैलिएको कपालसँगै घना अन्धकार समान कालो भयानक स्वरुप भएपनि यिनको दर्शन मात्रले पनि शुभ फल पाइने विश्वास गरिन्छ । त्यसैले यिनलाई शुभंकरी पनि भनिन्छ ।

साथै यिनको स्वरूपको प्रभावले सम्पूर्ण राक्षस, भूत, प्रेत, पिसाच तथा नकारात्मक उर्जा नाश हुने, दुष्काल र अज्ञानताको अन्त्य हुने विश्वास लिइन्छ ।

यिनको ब्रह्माण्ड समान गोलाकार तीन नेत्र छ भने स्वासबाट अग्नि निस्कने गर्दछ, गलामा विद्युत झैं चम्किएको माला लगाएकी छिन् ।

चारभुजा भएकी यिनको दाहिनेतर्फको माथिल्लो हात वरद मुद्रामा र तल्लो हात अभय मुद्रामा छ । त्यस्तै देब्रेतर्फको माथिल्लो हातमा फलामको हतियार, तल्लो हातमा खड्ग रहेको छ । यिनको बाहन गधा हो ।

कालरात्रीको उपासना गर्ने, शारदीय नवरात्रको सातौं दिन साधकको मन सहस्रार चक्रमा प्रवेश गर्दछ । यसो भन्नुको अर्थ साधकको लागि ब्रह्माण्डका सिद्धिहरुको सबै द्वार खुल्न थाल्दछ ।

यसको साथमा घटस्थापनाको दिनमा घरघरको दशैं घर वा आगम घरमा स्थापना गरिएको कलश र दुर्गा भवानीको प्रतिमाको पूजा अर्चना पनि जारी छ ।

नवरात्रका नौ दिनसम्म घटस्थापना गरिएको दशैं घर वा आगम घरमा माता शक्तिको पूजा उपासना गरिन्छ । पूजाको क्रममा दुर्गा सप्तशतीचण्डी, देवीभागवतलगायतका शाक्त पुराण वा शास्त्र पाठ पनि गर्ने गरिन्छ ।

नवरात्रमा देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको भीड लागिरहेको छ ।

Categorized in संस्कृति