राष्ट्र बैंकले तिहारका लागि सुनचाँदीका सिक्का विक्री गर्ने
SamacharDesk | २०८० कार्तिक १५, बुधबार

नेपाल राष्ट्र बैंकले तिहारका लागि सुनका असर्फी र चाँदीका सिक्का (मेडालियन) विक्री खुल्ला गरेको छ ।
राष्ट्र बैंकले यही कार्तिक १९ गते आइतबार देखि २४ गतेसम्म सुनका असर्फी र चाँदीका सिक्का (मेडालियन) बिक्री खुल्ला गर्ने भएको छ ।
राष्ट्र बैंकले १० ग्राम, ५ ग्राम र २.५ ग्रामको सुनको असर्फी बिक्री गर्ने भएको छ । सुनको असर्फीको मूल्य हरेक दिन बिहान ११ बजे प्रकाशित हुने उनले बताए ।
यस्तै चाँदीको मेडालियन सिक्का पनि २५ ग्राम र १० ग्रामको रहेको राष्ट्र बैंकले जनाएको छ । २५ ग्रामको सिक्कामा गाईको चित्र अंकित रहेको छ ।
यस्तै १० ग्रामको सिक्कामा भने गाई, लक्ष्मी, गणेश, र गजलक्ष्मी अंकित रहेको टक्सार विभाग प्रमुखले बताए ।
२५ ग्रामको चाँदीको सिक्काको मूल्य ४ हजार र १० ग्रामको सिक्काको १ हजार ६०० रुपैयाँ मूल्य तोकिएको छ ।
राष्ट्र बैंकका अनुसार प्रतिव्यक्ति बढीमा सुनका असर्फी १ सेट (१० ग्राम, ५ ग्राम, २.५ ग्राम) र चाँदीका सिक्का १ सेट (गाईअङ्कित २५ र १० ग्राम, लक्ष्मी अङ्कित १० ग्राम, गणेश अङ्कित १० ग्राम, गजलक्ष्मी अङ्कित १० ग्राम) बिक्रीको प्रबन्ध मिलाइएको छ ।
तिहारमा सुनको असर्फी र चाँदीका मेडालियन सिक्का अभाव नहुने गरी मौज्दात रहेको राष्ट्र बैंकले जनाएको छ ।
Categorized in राष्ट्रिय