arin enterprises

सडक कुकुरदेखि सावधान रहन महानगरको आग्रह

SamacharDesk | २०८० मङ्सिर २६, मंगलबार

काठमाडौं महानगरपालिकाका सडक कुकुरमा ‘डिस्टेम्पर’ रोग देखापरेपछि सर्तक रहन महानगरले आग्रह गरेकोछ ।

महानगरको पशुपन्छी विभागका अनुसार स्थानीयको सूचनाका आधारमा केही कुकुरमा परीक्षण गर्दा डिस्टेम्पर रोग देखा परेकोले घरपालुवा कुकुरलाई घर बाहिर निकाल्दा सचेत रहन आग्रह गरेको हो ।

कुकुरका लागि प्राणघातक मानिने यो रोग लागेका कुकुरलाई ज्वरो आउने, खाना नखाने, झोक्राउने, सिँगान बग्ने, आँखामा चिप्रा लाग्ने र लड्खडाउँदै हिंड्नेलगायतका लक्षण हुने पनि विभागले जनाएको छ ।

यो रोग एउटा कुकुरबाट अर्को कुकुरमा सजिलै सरे पनि कुकुरबाट मानिसमा भने नसर्ने जनाइएको छ ।

सडक कुकुरहरुमा यो रोग लागेको पुष्टि भएपछि व्यवस्थापन सुरु गरेको भन्दै महानगरपालिकाले रोग लागेको लक्षणसहितका कुकुर देखिए निःशुल्क टेलिफोन नम्बरमा ११८० मा सम्पर्क गरी जानकारी दिन भनेको छ ।

साथै सडक कुकुरसंग घुलमिल हुने स्थानमा घर पालुवा कुकुर नलैजान पनि महानगरपालिकाले अनुरोध समेत गरेको छ ।

काठमाडौं महानगरभित्र २२ हजार सडक कुकुर रहेको अनुमान छ भने महानगरपालिकाले सडक कुकुरको बन्ध्याकरण अभियान चलाईरहेको छ ।

Categorized in स्थानीय