अभियन्ता ईसँग वार्ता नगर्ने लमपा प्रमुख महर्जनको भनाई
SamacharDesk – समाचारडेस्क रिपोर्टर | २०८० मङ्सिर २६, मंगलबार

ललितपुर महानगरपलिका (लमपा) प्रमुख चिरिबाबु महर्जन अभियन्ता ईसँग वार्ता नगर्ने बताएका छन् ।
समाचारडेस्कसँग कुरा गर्दै लमपा प्रमुख महर्जनले आफ्नो क्षेत्रमा फुटपाथ पसल राख्न नदिने ललितपुर महानगरको निर्णयको विरोधमा उत्रेका अभियन्ता ईसँग वार्ता नगर्ने बताएका हुन् ।
गत मंगलबार ललितपुर महानगरले मंसिर २४ गतेबाट लगनखेलदेखि मंगलबजारसम्म फुटपाथ पसल राख्न नपाउने निर्णय गरेका थियो भने यस निर्णय विरुद्ध अभियन्ता ई ले १०८ मिनेट ललितपुर महानगरपलिका कार्यालय अगाडि उभिने बताएका थिए ।
“ईले यस विषयमा मसँग कुरा गर्न चाहेको भए म उनलाई स्वागत गरि यसको पूर्ण जानकारी दिन्थें । उनले कुरै नबुझी अचानक सामाजिक संजालमा भाइरल हुनको लागि यस्तो कदम चाले’ महानगर प्रमुख चिरिबाबु महर्जनले भने ।
आफुहरुले फुटपाथ पसललाई नलखेटेको तर, काठमाडौंबाट सबै यता आउँदा ज्यादै नै चाप बढेपछि यसलाई व्यबस्थित मात्र गर्न खोजेको महर्जनको भनाई हो ।
‘कुनै पनि विरोधको एउटा विधि र प्रक्रिया हुन्छ । ईले घटिमा पनि एउटा विधि अपनाइ दिएको भए यसरी उभिन आउनुपर्ने थिएन’ महर्जनको भनाई हो ।
महानगर प्रमुख मर्हजनले गत बर्षको म्हपूजाको दिन सम्झिँदै चक्रबहिलको आगलागीमा नगर प्रहरी र दमकल ४ मिनेट भित्र पुगी आगोे नियन्त्रणमा लिएको बताए ।
‘यो बाटो खालि भएको कारणमा सम्भव भएको हो । लगनखेलको फुटपाथ पसल हुँदाको भीडभाडमा कुनै पनि आकस्मिक सेवाको गाडि र मानिसहरु कोही पनि समयमा कतै पुग्न सक्दैन’ महर्जनले थपे ।
यसअघि नगर प्रहरी प्रमुख सीताराम हाछेथुले ठेग्न नसक्ने ब्यापारीको संख्या र बाटोमा उभिएर खरीद गर्ने मानिसहरुको भीडले गर्दा झगडा, पाकेटमारी जस्ता गतिविधि बढ्नुका साथै फोहर पनि हुने र सर्वसाधारणलाई हिँड्न समेत गार्हो स्थिति सिर्जना भएको बताएका थिए । यस्तै एम्बुलेन्स, दमकल समेत गुड्न नसक्ने स्थितीमा यस क्षेत्रमा फुटपाथ पसल निषेध गर्ने निर्णय लिएको बताएका थिए ।
यसै सम्बन्धमा अभियन्ता राजन खड्गीले ललितपुर महानगरपालिकाको यो निर्णय स्वागत योग्य भएको बताएका छन् ।
महानगरको निर्णयको समर्थनमा पुल्चोक पुगेको अभियन्ता खड्गीले भने, ‘आजको यो प्रदर्शन ईको विरुद्ध मात्र होइन, ललितपुर महानगरपालिकालाई पनि यो निर्णयवाट पछि हट्न पाईँदैन भन्ने चेतावनी पनि हो ।”
ईसँग सहमति गर्दै काठमाडौं महानगरपालिका फुटपाथ पसल राख्न नदिने निर्णयबाट पछि हट्यो त्यसरी ललितपुर महानगरपालिका पछि नहटोस् भन्ने खड्गीको चेतावनी हो ।
त्यस्तै अर्का अभियन्ता राजाराम तण्डुकारले ललितपुर महानगरपालिका काठमाडौ महानगरपालिका जस्तो नभएको दावी गर्दै यहाँको निर्णयलाई जनताले साथ दिने बताए ।
आफुले अभियन्ता ईसँग वार्ता गर्न खोजेको तर, ईले आफुलाई बेवास्ता गरेको अभियन्ता तण्डुकारले दावी गरे ।
मंगलबार दिउँसो ३ बजे अभियन्ता ईःले लमपा कार्यालय अगाडि विरोध प्रदर्शन गर्न लागेपछि स्थानीयहरु पनि आक्रोशित भई ईःविरुद्ध प्रदर्शनमा उत्रिएका थिए ।
त्यसक्रममा प्रदर्शन गरिरहेका स्थानीयले ईः लगायत प्रदर्शनकारीले बोकेको पम्प्लेट च्यातिदिएका थिए ।
दोहोरो भिडन्तको स्थिती देखिएपछि प्रहरीले सुरक्षाको लागि अभियन्ता ईःलाई प्रहरी प्रभाग पुल्चोक लगेको थियो ।
Categorized in स्थानीय