अगस्त्यः च्याप्टर १’ प्रदर्शन मिति घोषणा
SamacharDesk | २०८० पौष १६, सोमबार

‘द अन ब्रेकेबल अगस्त्यः च्याप्टर १’ को प्रदर्शन मिति घोषणा गरिएको छ । सोमबार दुई पोस्टर सार्वजनिक गर्दै फिल्मको प्रदर्शन मिति घोषणा गरिएको हो ।
सौरभ चौधरीद्वारा लिखित तथा निर्देशित यस फिल्म फागुन १८ गतेदेखि प्रदर्शन हुने भएको छ ।
एक पोस्टरमा सौगात मल्लको कसिलो शरीर देख्न सकिन्छ भने अर्को पोस्टरमा उनी रेलको अगाडि भिखारीको रुपमा हिडिरहेको देख्न सकिन्छ ।
पोस्टर अनुसार सौगात मल्ललाई ‘सौर्य’ पात्रको रूपमा चित्रित गरिएको छ । यो फिल्मका लागि अभिनेता मल्लले २० केजी तौल घटाएका जनाएको छ ।
फिल्ममा सौगातसँगै नाजिर हुसेन, मलिका महत, प्रमोद अग्रहरि, विजय बराल, रविन्द्र झालगायत कलाकारको अभिनय छ।
फिल्मलाई नेपालभर डिसिएनले वितरण गर्नेछ । प्रकाश मल्ल, अनिष तामाङ र विनोद पौडेलको निर्मातामा रहेको यो फिल्म डार्क हर्स इन्टरटेन्मेन्ट र सेभेन सिज इन्टरटेन्मेन्टको प्रस्तुतिमा तयार भएको छ ।
फिल्मका कार्यकारी निर्माता विश्व गौचन र अभिषेक चौधरी हुन् ।
फिल्मलाई संजय लामाले छायांकन गरेका हुन् ।
