फ्रान्सको इतिहासमा पहिलोपटक समलिङ्गी तथा कान्छो प्रधानमन्त्री
SamacharDesk | २०८० पौष २४, मंगलबार

फ्रान्सको इतिहासमै पहिलोपटक समलिङ्गी प्रधानमन्त्री बनेका छन् ।
३४ वर्षीय गाब्रिअल अटल आधुनिक फ्रान्सको इतिहासमा प्रधानमन्त्री हुने सबैभन्दा कान्छा व्यक्ति पनि भएको छ । यसअघि उनी फ्रान्सको आधुनिक इतिहासमा सबैभन्दा कान्छो शिक्षामन्त्री बन्ने रेकर्ड समेत राखिसकेका छन् ।
एमानुअल माक्रोँले आफ्नो राष्ट्रपति कार्यकाललाई नयाँ सरकारसहित पुनर्संरचना गर्न खोजिरहँदा उनको नाम आएको हो ।
अटलले अब जुनमा हुने महत्वपूर्ण युरोपेली संसदीय चुनावमा फ्रान्सेली सरकारको नेतृत्व गर्ने जिम्मेवारी पाउनेछन् ।
यसअघि समाजवादी लरेन्ट फाबिअस सन् १९८४ मा ३७ वर्षका हुँदा प्रधानमन्त्री नियुक्त भएका थिए।
अटलको राजनीतिक उन्नति निकै तीव्र गतिमा भएको पाइन्छ। दश वर्षअघि उनी देशको स्वास्थ्य मन्त्रालयमा प्रस्ट भूमिका नभएका सल्लाहकार र सोसलिस्ट कार्यकर्ता थिए।
माक्रोँको सन् २०१७ को चुनावका बेला अटल सांसद बनेका थिए। बहस गर्नमा सिपालु उनी त्यसबेला देखि नै राष्ट्रपतिको आँखामा परेका थिए।
२९ वर्षको उमेरमा उनी फ्रान्सको सरकारमा सबैभन्दा कान्छा मन्त्री बनेका थिए। जतिखेर उनी कनिष्ठ शिक्षा मन्त्री बनेका थिए। सन् २०२० यता उनी सरकारी प्रवक्ताका रूपमा छन्।
त्यसबेलादेखि नै उनी मतदातामाझ राम्रोसँग चिनिन थाले। सन् २०२२ मा राष्ट्रपति माक्रोन पुनर्निर्वाचित भएपछि उनी छोटो समय बजेट मन्त्री पनि भएका थिए ।
Categorized in अन्तर्राष्ट्रिय