खुल्ला मञ्चलाई खुल्लै राख्न निल्सको माग
SamacharDesk – बिराज | २०८० माघ ४, बिहिबार

काठमाडौंको खुल्ला मञ्चलाई फुटबल ग्राउन्ड बनाउने निर्णयसँगै काठमाडौं महानगरपालिका (कामपा) कार्यालय र कामपा प्रमुख बालेन्द्र साहको फेरी आलोचना भएको छ ।
खुल्ला मञ्चलाई अन्तर्राष्ट्रिय फुटबल ग्राउन्ड बनाउन कामपाले तयारी थालिसकेको कुरा सार्वजनिक हुने वित्तिकै कामपा र महानगर प्रमुख बालेन्द्र साहको चौतर्फी आलोचना भइरहेको हो ।
यसै क्रममा नेपाल इन्डिजिनियस लिगल सोसाईटी (निल्स) ले कामपाको यस निर्णयप्रति आपत्ती जनाएको छ ।
निल्सले खुल्ला मञ्चलाई खुल्लै राख्नुपर्ने माग गर्दै कामपा प्रमुखको नाममा ज्ञापन पत्र बुझाएको छ । महानगर प्रमुख साहको अनुपस्थितीमा निल्सले ज्ञापन पत्र महानगर प्रमुखको सचिवालयमा दर्ता गरेको हो ।
निल्सले बुझाएको ज्ञापन पत्रमा काठमाडौं स्थानीय संस्कृति, परम्परासँग प्रत्यक्ष रुपमा जोडिएको टुँडिखेललाई पटक पटक विभिन्न बहानामा खण्डिकरण गरेकोमा दुःख व्यक्त गर्दै खुल्ला मञ्चलाई अतिक्रमण नगर्न माग गरिएको छ ।
टुँडिखेलमा पाहाँचःह्रेको दिन घोडा दौडाउने, गुरुमापालाई भोज खुवाउने, फागुमा वसन्तपुरमा गाडिने चीर विसर्जन गर्ने परम्परा जोडिएको पनि निल्सले स्मरण गराएको छ ।
आदिवासी अधिकारसम्वन्धि संयुक्त राष्ट्रसंघीय घोषणापत्रमा आदिवासी जनजातिसँग आफ्नो साँस्कृतिक परम्परा र प्रचलनहरु मान्ने तथा तिनलाई पुनर्जीवन दिने अधिकार रहेको स्मरण गराउँदै निल्सले कानुनमा भएको व्यवस्था सबैले अक्षरसः पालना गर्नुपर्ने बताएको छ ।
सामाजिक उत्तरदायित्व अनुरुप खेल मैदान तयार गरी नागरिकलाई खेलकुदप्रति रुचि जगाउनु भने राम्रो भएको निल्सले लेखेको छ ।
‘सो कार्यको लागि अन्यत्र जग्गा प्राप्त गरी बनाउन वा महानगर क्षेत्र भित्र जग्गा खरीद गरी खेल मैदान बनाउन हार्दिक अनुरोध गर्दछौं । सो कार्यको लागि महानगरपालिकाले सहयोगको अपिल गरे हामी पनि सहयोग गर्न तयार छौं । तर खुल्ला मञ्च जस्तो ऐतिहासिक तथा सांस्कृतिक खुल्ला क्षेत्रमा अन्य कुनै कार्यलाई हस्तक्षेप गर्ने अधिकार महानगरपालिकालाई छैन’ ज्ञापन पत्रमा लेखिएको छ ।
साथमा प्राकृतिक विपदको बेलामा खुल्ला ठाउँ आवश्यक हुने र मानिसहरु दैनिक व्यायाम, भेटघाट गर्ने र दैनिक जीवनमा आइपर्ने कार्यका लागि खुल्ला ठाउँ जरुरी हुने पनि निल्सले उल्लेख गरेको छ ।
‘फुटबल ग्राउन्डका लागि विकल्प खोज्न सकिनेमा कुनै अध्ययन नै नगरी खुल्ला मञ्चलाई फुटबल ग्राउन्डको रुपमा बनाउनु खेदजनक छ । साथै जुन कार्य गर्नु नै हुँदैन सो कार्यमा अध्ययन गर्न भनी अनाहकमा रकम छुट्याउनु पनि भ्रष्टाचार गरेको सरह हुन्छ’ निल्सले भनेको छ ।
खुल्ला मञ्चलाई अरु कुनै कार्यका लागि बिगार्न, मास्न, स्वरुप परिवर्तन गर्न नहुने भन्दै निर्णय फिर्ता लिन निल्सले जोडदार माग गरेको छ ।
Categorized in स्थानीय