खोकनाको प्रसिद्ध रुद्रायणी देवीको नाच पाटनमा प्रदर्शन
SamacharDesk – राम डंगोल | २०८० माघ ६, शनिबार

खोकनाको प्रसिद्ध १२ वर्षे रुद्रायणी देवीको नाच शुक्रबार ललितपुरको पाटनमा प्रदर्शन गरिएको छ ।
काठमाडौं उपत्यकाको दक्षिणमा अवस्थित ऐतिहासिक पुरानो नेवा: बस्ती खोकनामा ऐतिहासिक रुपमा मनाइने रुद्रायणी देवीको जात्रा हरेक १२ वर्षमा खोकना बाहिर पनि पुग्ने गरेको छ ।
त्यसै क्रममा मंसिर १३ गते खोकनाबाट सानो खोकना हुँदै बाहिरिएको यो जात्रा पाटनमा देखाइएको हो ।
१५औं शताब्दीमा राजा अमर मल्लले ख्वनामा रुद्रायणी देवीको मन्दिरको स्थापना गर्नुभएको किंवदन्ती रहेको छ । शक्तिपीठको रुपमा स्थापना भएको रुद्रायणी देवीको वर्षको दुईपटक शिकाली देवीको जात्रा गर्ने परम्परा रहेको छ ।
उक्त जात्रामा ४६ देवगणहरुको पूजाआजा गर्ने तथा जाभु (भ्वज) खुवाउने परम्परा पनि निरन्तर चलिआएको छ । प्रत्येक १२ वर्षमा मात्र बाहिर आउने देवगणहरु रुद्रायणी, कुमारी, गणेश, ब्रम्हायणी, इन्द्रायणी, बाराही, विष्णुदेवी, महालक्ष्मी, महेश्वरी, कालिका, नाट्यश्वर जस्ता देवगणहरुको नाच ठाउँ ठाउँमा देखाइन्छ ।
यसैबीच खोकनाको ऐतिहासिक तथा मौलिक जात्रालाई देशभर मनाउने तथा जात्राका बारे देशभरका जनतालाई अवगत गराउने सिलसिलामा माघ १५ गते कीर्तिपुरमा रुद्रायणी देवीको नाच देखाइने जनाइएको छ ।
उक्त अवसरमा रुद्रायणी देवीको नाच देखाइनुका साथै नेवारी परम्परागत भोजको पनि आयोजना कीर्तिपुरमा गर्न लागिएको हो ।
कीर्तिपुरमा गर्न लागेको भोजको मुख्य विशेषता भनेकै खोकना देवगण समूहबाटै भ्वजका परिकारहरु बनाई उहाँहरुबाटै समस्त भक्तजनहरुलाई पस्किएर खुवाइने जनाइएको छ ।
खोकना जात्रालाई विभिन्न स्थानमा प्रदर्शन गराई माघ २० गते खोकना फर्कने छ त्यसपछि फेरि यो जात्रा चन्द्रगिरी र काठमाडौंको वसन्तपुरमा नाच देखाइने आयोजकले जानकारी दिएको छ ।
Categorized in संस्कृति