पूर्वसांसद इच्छाराज तामाङ सम्पत्ति शुद्धीकरणमा दोषी ठहर
SamacharDesk | २०८० माघ ७, आइतबार

विशेष अदालतले पूर्व एमाले सांसद समेत रहेका सिभिल गु्रपका अध्यक्ष इच्छाराज तामाङलाई सम्पत्ति शुद्धिकरण मुद्दामा दोषी ठहर गरेको छ।
विशेष अदालतले गत वर्ष भदौमा सम्पत्ति शुद्धिकरण विभागले दायर गरेको मुद्दामा सुनुवाई गर्दै आइतबार दोषी ठहर गरेको हो।
विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू तेज नारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलाशमा मंगलबारदेखि सुनुवाइ भइरहेको मुद्दामा फैसला भएको हो।
आफ्नै समूहका विभिन्न कम्पनीहरुबाट बिना धितो कर्जा प्रवाह गरी नागरिकहरुको रकम हिनामिना गरेको अभियोग लागेको पूर्व सांसद तामाङसहित ६ जनाविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।
दोषी ठहर भएका तामाङलाई सजाय निर्धारण गर्न माघ २१ गतेका लागि पेशी तोकिएको हो। उनीसँगै श्रीमति श्रीजना शाक्य तामाङलाई पनि विशेषले दोषी ठहर गरेको छ।
एउटै मुद्दामा प्रतिवादी बनाइएका केशवलाल श्रेष्ठ र मिना कुमारीलाई पनि विशेषले दोषी ठहर गरेको छ। छोरीहरु प्रतिक्षा तामाङ र प्रतिष्ठा तामाङलाई भने सफाइ भएका छन्।
सिभिल सहकारीका सञ्चालक तामाङविरुद्ध तीन अर्ब ३१ करोड ८५ लाख बिगो कायम गरी मुद्दा दायर भएको थियो।
श्रीमती सृजनालाई एक अर्ब तीन करोड ५ लाख, छोरी प्रतिक्षालाई ६ करोड २२ लाख, अर्की छोरी प्रतिष्ठालाई एक करोड ८९ लाख बिगो कायम गरी मुद्दा दायर गरिएको थियो।
Categorized in अपराध