arin enterprises

पचली भैरवको १२ बर्षे नाच टोखामा समपन्न

SamacharDesk – आकाश राजोपाध्याय | २०८० माघ १४, आइतबार

पचली भैरवको १२ बर्षे नाच टोखामा सम्पन्न भएको छ । पचली भैरवको परदेश यात्राको क्रममा यो नाच टोखामा शुक्रबार र शनिबार दुई दिन भएको थियो ।

गएको ४८ बर्षसम्म रोकिएको पचली भैरव देवगणको परदेश यात्राको क्रममा टोखा जाने परम्पराले यस वर्षबाट फेरी निरन्तरता पाएको हो ।

यस अघि वि.स २०७२ मा पनि भद्रकालीको नाच तीन दशकको अन्तराल पछि टोखामा लगिएको थियो ।

पचली भैरवको देवगणमा काली (अजिमा), पचलीभैरव, बाराही, गणेश, कुमारी, ब्रह्मायणी, रुद्रायणी, बैष्णवी, इन्द्रायणी, महालक्ष्मी, श्वेत भैरव, सिंघिनी र व्याघ्रिनी छन् ।

शनिवार बिहानै गणेश, कुमारी, भैरव, सिंघिनी र व्याघ्रिनीलाई साङलामा लगी पूजा गरी तःसि प्याखं (सिंघिनी व्याघ्रिनी)को नाच देखाई पुनः टोखा थःनेलाछिमा फर्केपछि नाच सुरु भएको थियो ।

टोखाको थःनेलाछिमा गणेशको नाचबाट शनिबारको नाच सुरु भएको थियो । गणेश देवता पछि क्रमशः ब्रह्मायणी, रुद्रायणी, कौमारी, बैष्णवी, बाराहीको नाच पछि तःसि प्याखं देखाइएको थियो ।

नाचपछि बलिपूजा गर्दै अन्त्यमा अजिमा (कालि) बाट दैत्य मार्ने नाच देखाई देवगण फर्केका थिए ।

‘१२ वर्षे खड्गसिद्धि जात्राको देवगणहरु आउनु भनेको शुभताको प्रतिक हो । देवगणहरु आएमा गाउँठाउँ पवित्र हुने, शान्ति हुने, रोगव्याधी नलाग्ने, बालीनाली, वस्तुभाउ सप्रिने र कार्यसिद्धि हुने गर्छ’ नेवाः गुथि टोखाका अध्यक्ष रमेश नापितले बताए ।

प्राय टोखा बासिहरु कृषि कार्यमा नै आवद्ध भएकाले यो नाच टोखा बासिहरुको लागि महत्वपूर्ण रहेको नापितले जनाए ।

टोखामा पचली भैरव जात्रा ल्याउने भएपछि यहाँको स्थानिय बासीको साथै स्थानिय संघसंस्थाहरु, राजनिती दलका प्रतिनिधिहरु र नेपाल स्काउट यस नाचको व्यवस्थापनमा खटेको नापित बताउँछन् ।

जात्राका लागि आवश्यक बलि, पूजा सामग्री र भोजको रकम स्थानीयवासी र टोखा नगरपालिकाले जुटाएको हो ।

आर्थिक पक्षको सवालमा भने नगरपलिकाले रु ४ लाख रुपैयाँ यस नाच संचालनको लागि सहयोग गरेको टोखा संस्कृति संरक्षित क्षेत्र विकासका अध्यक्ष गणेशमान श्रेष्ठ बताउँछन् ।

‘यो नाच संचालनको लागि लगभग ६–७ लाख खर्च हुन्छ । टोखा नगरपालिकाले चार लाख रुपैयाँ छ्ट्याएकोमा कर कटाएर साढे तीन लाख जति प्राप्त हुन्छ । बाँकी रकम विभिन्न संघसंस्था र स्थानिय बासिवाट जुटाएका छौँ ’ अध्यक्ष श्रेष्ठले भने ।

पचलीको र भद्रकालीको १२ बर्षे नाच साथै नवदुर्गा नाचको व्यवस्था भने टोखाको तलेजुबाटै हुनुपर्ने श्रेष्ठको भनाई छ ।

नाच टोखा तलेजुबाट सञ्चालनमा ल्याउनुपर्ने भए पनि आर्थिक अभावका कारण ल्याउन नसकेको तलेजु मन्दिरका मूल नाइके (मू नायः) हेमराज श्रेष्ठले बताए ।

नृत्यका लागि शुक्रबार काठमाडौं ज्याःबहाल द्यः छें (देउता घर) बाट टोखाको मूध्वाखा पुगेका ६ गुरु, १५ थकाली र ११ देवगणलाई बाजागाजासहित भव्य स्वागत गरी टोखा गणेशस्थानमा लगेको थियो । गणेशस्थानमा पूजा गरी नृत्यमा सहभागी देवगण सबैले मुकुन्डो, पोशाक, गरगहना लगाएका थिए ।

सिंघिनीले महापात्र, व्याघ्रिनीले डमरु, कुमारीले मयूरको प्वाँख र खड्ग, बैष्णवीले गदा र चक्र, गणेशले बन्चरो, रुद्रायणीले दण्ड तथा ब्रह्मायणी, इन्द्रायणी, बाराही, काली, भैरवले खड्ग हातमा लिई गणेशस्थानबाट निस्की टोखा नगर परिक्रमा गरि थःने लाछी पुगेका थिए ।

नृत्यका लागि थःनेलाछि पुगेका देवगणलाई टोखा तलेजुबाट पूजा गरी फूल र अन्डा सगुन दिइएको थियो ।

 प्रसाद ग्रहणपछि सबै देवगणले द्यः ल्हाये (नाचमा नासःद्यःको आराधना) गरेपछि भैरवले एकल नृत्य प्रस्तुत गरेको थियो, जसलाई शम्भु नाच भनिन्छ ।

त्यसपछि भैरव अजिमा र बाराहि सामुहिक नृत्य प्रस्तुत गरे भने अन्त्यमा बलिपूजा गरि शुक्रबारको नाच सम्पन्न भएको थियो ।

Categorized in संस्कृति