arin enterprises

टिकटकबाट आफ्नो सम्पूर्ण म्युजिक हटाउँदै यूएमजी

SamacharDesk | २०८० माघ १९, शुक्रबार

विश्वको सबैभन्दा ठूलो म्युजिक कम्पनी युनिभर्सल म्युजिक ग्रुप (यूएमजी)ले टिकटकबाट आफ्नो सम्पूर्ण म्युजिक हटाउने घोषणा गरको छ ।

बुधवार टिकटकसँगको सम्झौता सकिएसँगै कम्पनीले चर्चित कलाकार÷संगीतकारको म्युजिक हटाउने घोषणा गरेको हो ।

यूएमजी म्युजिक प्रयोग भएका सबै भिडियोबाट म्युजिक हट्नुका साथै उक्त ट्रयाकमा नयाँ भिडियो पनि बनाउन नसक्ने  बीबीसीले जनाएको छ ।

यससँगै यूएमजीले टेलर शिफ्ट, ड्रेक, ओलिभिया रोड्रिगो, ब्याड बन्नी लगायतका हजारौं कलाकारको म्युजिक हटाउने भएको छ ।

टिकटकमा म्युजिक राख्न कतिपय कम्पनीसँग सम्झौता भएको हुन्छ भने कतिपय कलाकारसँग सम्झौता गरिएको हुन्छ । यसरी सम्झौता गरेपछि टिकटकमा उनीहरूको म्युजिक समावेश हुन्छ । तर, अहिले भने यूएमजीको सूची टिकटकबाट हटेको छ ।

बुधवार यूएमजीले टिकटकसँग नयाँ सम्झौता गर्ने अपेक्षा गरिएको थियो । तर, उनीहरूबीच देखिएको विवादका कारण सम्झौता हुन सकेन ।

यूएमजीका अनुसार म्युजिक प्रयोग गरेबापत अन्य कम्पनीले जति शुल्क तिर्छन्, त्यसको तुलनामा टिकटकले निकै कम मूल्य तिर्दै आएको आरोप छ । तर, यता टिकटकले भने यूएमजीले गलत भाष्य सिर्जना गरेको र कलाकारहरुको भन्दा आफ्नो फाइदा चाहेको आरोप लागाएको छ ।

यूएमजीको प्रतिद्वन्द्वी कम्पनी वार्नर म्युजिकले भने गत जुलाईमै टिकटकसँग लाइसेन्स सम्झौता सम्पन्न गरेको थियो । 

Categorized in विज्ञान-प्रविधी