पत्रकार दबू काभ्रेको साधारणसभा सम्पन्न
SamacharDesk – बिराज | २०८० माघ २१, आइतबार

नेवाः पत्रकार राष्ट्रिय दबू काभ्रे जिल्ला शाखाले पाँचौं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
काभ्रेको बनेपामा आयोजित कार्यक्रममा केन्द्रीय अध्यक्ष नृपेन्द्र लाल श्रेष्ठले समावेशी सञ्चार, मातृभाषा पत्रकारितादेखि पत्रकारहरुको क्षमता बृद्धि गर्नुपर्नेमा जोड दिए ।
धर्मादित्य धर्माचार्यले करिव सय वर्ष अघि बुद्धधर्म नामक नेपालभाषाको पत्रिका प्रकाशन गर्दै मातृभाषा पत्रकारिताको थालनी गरेको स्मरण गर्दै अध्यक्ष श्रेष्ठले आउँदो बुद्धजयन्तीदेखि धर्मादित्यको स्मरणमा वार्षिक कार्यक्रम घोषणा गरेको जानकारी दिए ।
वरिष्ठ पत्रकार मोहन दुवालले पत्रकारलाई दिइने भनिएको पेन्सनको कार्यविधि संशोधन गर्न माग गरे । वडाबाट सिफारिस लिएर पत्रकार भएको प्रमाणित गर्नुपर्ने कार्यविधि गलत भएको दुवालको तर्क रहेको छ ।
’मैले पत्रकारितामै जीवनको चार दसक बिताएँ । तर म पत्रकार भएको प्रमाणित गर्न सम्बन्धित वडा कार्यालयले सिफारिस गर्नुपर्ने रहेछ’ दुवालले असन्तुष्टि पोखे ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष बद्री तिमिल्सिना, प्रेस युनियन काभ्रे, प्रेस चौतारी नेपाल काभ्रे, प्रेस सेन्टर काभ्रेका प्रतिनिधि, काभ्रे क्याम्पसका प्रमुख, प्राचार्य, हलिं नेवाः दबूका उपाध्यक्षको सहभागीता थियो ।
त्यस्तै दबूको केन्द्रीय समितिबाट उपाध्यक्ष सुरेन्द्र भक्त श्रेष्ठ, महासचिव केके मानन्धर, सहसचिव विजयराम कर्माचार्य र सदस्य अनुप प्रधान कार्यक्रममा उपस्थित थिए ।
आउँदो फागुन ५ गते शनिबार पत्रकार दबूको केन्द्रीय साधारणसभा हुन गइरहेको छ ।
त्यसअघि देशभरका विभिन्न जिल्लामा बिस्तार गरिएका पत्रकार दबूका शाखाहरुमा साधारण सम्पन्न गर्नुपर्ने अवस्थामा अहिले देशभरका नेवार पत्रकारहरुलाई साधारणसभाको चटारो लागेको छ ।
यहि क्रममा पत्रकार दबू ललितपुर शाखाले माघ २१ गते आइतबार सधारण सभा सम्पन्न गर्न लागेको छ भने भक्तपुर शाखाले माघ २८ गते साधारण सभा सम्पन्न गर्ने योजना बनाएको छ ।
Categorized in समाज