आज तामाङ ल्होसार
SamacharDesk | २०८० माघ २७, शनिबार

हरेक वर्षको माघ शुल्क प्रतिपदाको दिन तामाङ समुदायहरु विविध कार्यक्रम हर्षाेल्लापूर्वक सोनाम ल्होसार मनाउने गर्दछ ।
यो वर्ष पनि मुसा वर्षलाई विदा गरी गाई वर्ष प्रवेश गरेको अवसरमा विविध कार्यक्रम गरी नयाँ वर्ष मनार्ईंदैछ ।
ल्होसारमा १२ वटा जीवजन्तुका नामबाट ल्हो खोर्लो अर्थात् वर्ष चक्रका आधारमा हरेक वर्ष पुरानो वर्षलाई बिदाइ र नयाँ वर्षलाई स्वागत गरी धार्मिक र सांस्कृतिक विधिअनुसार यो पर्व मनाउने गरिन्छ ।
मुसा, गाई, बाघ, खरायो, ड्रागन, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर ल्होसारमा १२ वटा जीवजन्तुका नामबाट धार्मिक र सांस्कृतिक विधिअनुसार यो पर्व मनाउने गरिन्छ ।
भूमिपूजा, कूलपूजा एवं दानदक्षिणा, ढोगभेट, नाचगान, मिठो परिकार बनाएर खाने र शुभकामना आदानप्रदान गरी यो पर्व मनाउने चलन छ ।
समुदायका सबै जना एकै ठाउँमा भेला भई सामूहिक रुपमा मनाइने यो पर्व मुलुकका विभिन्न भूभागमा बसोबास गर्ने तामाङसहित ह्योल्मो, जिरेल, नेस्याङ्वा, भोटे, दुरा, लेप्चा लगायतले आ–आफ्नो परम्परा अनुसार मनाउँछन् ।
तामाङ जातिको बाहुल्य रहेको बागमती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ । राजधानीको टुँडिखेल, बौद्ध, स्वयम्भू क्षेत्रमा विविध कार्यक्रम आयोजना गरी ल्होसार मनाइँदैछ ।
आज तामाङ समुदायको सांस्कृतिक प्रदर्शन गरिनुका साथै सो समुदायको खानाका परिकार, भेषभुषा, हस्तकलासहित नृत्य प्रस्तुति गरिने छ ।
औपचारिक कार्यक्रममा सो समुदायको राजनीतिक, सामाजिक तथा सांस्कृतिक विषयमा वहस गराइनेछ ।
पर्वको अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, राजनीतिक दलका प्रमुखहरुले शुभकामना मन्तव्य व्यक्त गरेका छन् ।
Categorized in राष्ट्रिय