arin enterprises

एथलेटिक्सका अधिकारी र पछाई वर्षको उत्कृष्ट खेलाडी घोषित

SamacharDesk | २०८० माघ २८, आइतबार

यस वर्षको एनएसजेएफ पल्सर अवार्डमा एथलेटिक्सका दीपक अधिकारीले वर्ष उत्कृष्ट पुरुष खेलाडीको अवार्डको जितेका छन् ।

उनले क्रिकेट टिमका कप्तान रोहित पौडेल र आसिफ शेखलाई पछि पार्दै नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले प्रदान गर्दै आएको वर्ष उत्कृष्ट पुरुष खेलाडीको अवार्ड जितेका हुन् ।

दीपक १६औं एसियाली क्रसकन्ट्री दौडमा दुई स्वर्ण विजेता हुन् । नेपाल खेलकुद पत्रकार मञ्च एनएसजेएफले आइतबार आयोजना गरेको एनएसजेएफ पल्सर स्पोट्र्स अवार्ड २०७९ मा यो वर्ष एथलेटिक्सहरुको वर्चस्व रह्यो ।

एथलेटिक्सकी राजपुरा पछाईले वर्ष उत्कृष्ट महिला खेलाडीको अवार्ड जितेकी छन् । अनुशा मल्ल र पुष्पा भण्डारीलाई पछि पार्दै राजपुराले अवार्ड जितेकी हुन् । यस्तै वर्षको उत्कृष्ट प्रशिक्षकमा पनि एथलेटिक्सकै चन्द्र गुरुङ घोषित भए ।

अधिकारी, पछाई र गुरुङले १६औं एसियाली क्रसकन्ट्री दौडमा पदक जितेका थिए । वर्ष उत्कृष्ट खेलाडीद्वय दीपक र राजपुराले बजाज पल्सर एन २५० मोटरसाइकल पुरस्कार पाए ।

वर्ष उत्कृष्ट प्रशिक्षक गुरुङले पनि पल्सर एन १६० मोटरसाइकल पाए । टेबल टेनिसकी खेलाडी सिक्का सुवाल श्रेष्ठले पिपुल्स च्वाइस अवार्ड जितिन् ।

ईसेवाको भोटिङ, मञ्चका सदस्यको मत, फेसबुक लाइक र प्रमुख प्रशिक्षकको मतका आधारमा सिक्का विजेता भएकी हुन् । सिक्काले सर्वाधिक ४४.८ प्रतिशत मत प्राप्त गरिन् ।

यस अवार्डको मनोनयनमा करातेका विप्लवलाल श्रेष्ठ, फुटबलका अनन्त तामाङ, भलिबलकी निरुता ठगुन्ना र शारीरिक सुगठनकी रजनी श्रेष्ठ थिए ।

युवा वर्ष खेलाडी क्रिकेटका देव खनाल घोषित भए । उनी नेपालले आठ वर्षको खडेरी तोड्दै २०२४ को आइसीसी यू–१९ विश्वकप क्रिकेट छनोट गराउन सफल कप्तान हुन् ।

देवले अवार्डसँगै पल्सर एन १६० मोटरसाइकल पुरस्कार पाए । लाइफ टाइम एचिभमेन्ट अवार्ड पहिलो ओलम्पियन एवं भारोत्तलक राजेन्द्रकुमार प्रधानलाई प्रदान गरिएको थियो ।

खेलाडी र प्रशिक्षकका रूपमा उनी झन्डै साढे पाँच दशक भारोत्तोलन खेलमा सक्रिय छन् । एनएसजेएफ पारा एथ्लिट अवार्डबाट मैयाँ विशुंखे सम्मानित भइन् ।

उनले ट्रफीसँगै ५० हजार रुपैयाँ नगद पुरस्कार पाइन् । उनी सन् २००६ देखि पारा खेलकुदमा सक्रिय छिन् ।

Categorized in स्पाेर्ट्स