४८ बर्षपछि सिकाली नाच च्यासलमा हुँदै
SamacharDesk – समाचारडेस्क रिपोर्टर | २०८० माघ २९, सोमबार

खोकनाको सिकाली रुद्रायणीको १२ बर्षे नाच ४८ बर्ष पछि च्यासलमा हुने भएको छ । ४८ बर्ष देखि विभिन्न कारणवश पाटनमा रोकिएको परम्परा यसपटक पुनः सुरु हुन लागेको हो ।
रुद्रायणी देवगणहरु २९ गते राति च्यासलमा बस्न आउने र १ गते दिनभर नाच हुने रुद्रायणी देवगणका ताः द्यः नायः उदय कुमार डंगोल बताउँछन् ।
च्यासः मंका खलःले पनि सामाजिक संजालमा एक सूचना जारी गर्दै च्यासः डबलीमा सिकाली नाच हुन लागेको जानकारी दिएको छ ।
संयोगवस जुर्यो रुद्रायणी देवगणलाई निमन्त्रणा
यसपटक च्यासलमा रुद्रायणी देवगण ल्याउन अनौठो घटना भएको च्यासः मंका खलःका सचिव शहदेव व्यञ्जनकार सुनाउँछन् ।
आफुलाई यो नाच च्यासल ल्याउनुपर्छ भनेर थाहा नभएको र मंगलबजारमा यसै नाचको फोटो खिच्न जाँदा मात्र जानकारी पाएको उनी बताउँछन् ।
‘गत माघ १९ गते यहि रुद्रायणी देवीको १२ बर्षे नाच मंगलबजारको भिंद्यः डबलीमा भइरहँदा साथीले फोन गरेर मलाई मंगलबजार बोलायो । क्यामेरा बोकेर म मंगलबजार पुगें र नाच सकिएपछि देवगणसँगै मच्छिन्द्रबहाल पुगे । त्यहाँ खोकनाका मित्र सचिन र चन्द्रले यो नाच च्यासलमा पनि ल्याउनुपर्ने मलाई जानकारी दिएपछि मात्र बल्ल थाहा पाएँ’ व्यञ्जनकार भन्छन् । त्यसपछि फेरी च्यासलमा परम्परा निरन्तर गर्न के के गर्नुपर्छ भनेर सोध्दा निमन्त्रणा मात्र दिने हो भनेपछि मैले यसको लागि प्रकिया अघि बढाएको व्यञ्जनकारले भने ।
सबै कुरा च्यासलमा सबैसँग बेलिविस्तार लगाई सबैले सरसल्लाह पछि गत शनिबार नै देवगणहरुलाई औपचारीक रुपमा निमन्त्रणा दिएको उनले जानकारी दिए ।
‘निमन्त्रणा दिएपछि देवगणहरुले आन्तरीक योजना बनाई च्यासलमा डबली हेर्न आए । हामी खोकनामा गई पुजा सामाग्री केके चाहिने हो सबै बुझी यसको तैयारीमा हामी जुटिसकेका छौँ” व्यञ्जनकारले भने ।
किन रोकियो त यो परम्परा ?
यहाँ सिकालीको १२ बर्षे नाच किन रोक्यो भन्ने विषयमा भने थाहा नभएको व्यञ्जनकार बताउँछन् । वि.सं २०४४ सालमा तत्कालिन श्री ५ को सरकारको पंच कुलवीर व्यञ्जनकारले रुद्रायणी देवगणहरुलाई बोलाएर भोज ख्वाएको तर नाच भने नभएको शहदेव को भनाई छ ।
उनले त्यहाँका बुढापकाहरुलाई सोध्दा पहिला पहिला देवगणहरु नाच्न त आउँथे तर त्यो खोकनाको हो कि हरसिद्धिको हो भन्ने विषयमा अझै अन्यौल रहेको छ ।
टोलबासीहरुको भनाई उद्धृत गर्दै यो परम्परा लगभग ४८ वर्ष अघिबाट रोखिएको व्यञ्जनकार बताउँछन् ।
त्यस्तै ताः द्यः नायः डंगोलले पनि यस विषयमा आफुलाई पनि जानकारी नभएको बताए ।
“सिकालीको १२ वर्षे जात्रा पाटनको १२ वटा पुरानो डबलीहरुमा नचाउनु पर्ने भनाई छ । सरकारी सहयोगमा हामीले पाटन मूलचोक, केशवनारायण चोक र भिंद्यः डबलीमा नचाउने परम्परा छ ।
अरु ठाँउमा निमन्त्रणा दिए मात्र जाने हाम्रो चलन रहेको छ’ डंगोलले बताए । सायद निमन्त्रणा नै नआएर राकिएको हुनसक्ने डंगोलको अनुमान छ ।
आर्थिक व्यवस्था
आर्थिक पक्षको सवालमा यस नाचको लागि लगभग ३/४ लाख जति खर्च लाग्ने सचिव व्यञ्जनकारले जानकारी दिए ।
यसको लागि वडा कार्यालयमा आर्थिक सहयोगको लागि पत्राचार गरिसकेको उनले बताए ।
‘हामीलाई यसको लागि सप्तपुर महाबिहारले पनि आर्थिक सहयोग गर्ने बताएको छ । यस्तै हाम्रो मंकाः खलको लगभग ३७५ सदस्यबाट अर्को बार्ह बर्षसम्मको लगि अक्षयकोष नै बनाउन सहयोग मागेका छौँ’ सहदेवको भनाई छ ।
आर्थिक सहयोगकै लागि आगामी दिनहरुमा छिमेकी टोल तथा क्लबहरुलाई पनि पत्राचार गर्ने उनको भनाई छ ।
खुशी छन् च्यासल टोलवासीहरु
टुटिरहेको परम्परा फेरी निरन्तर हुने भएपछि च्यासल टोलबासीहरु निकै खुशी रहेको सचिव व्यञ्जनकारले बताए ।
‘मेरो आमा ८४ बर्षको र बुबा ८५ बर्षको हुनुहुन्छ । यो नाच च्यासल आउने भएपछि उहाँहरु धेरै नै खुशी हुनुभयो’ व्यञ्जनकारले भने ।
Categorized in संस्कृति