arin enterprises

नेपालमा पहिलो लेस्बियन जोडीको विवाह

SamacharDesk – Ram Dangol | २०८० माघ २९, सोमबार

समलिङ्गी (लेस्बियन) महिला महिलाको विवाह दर्ता भएको छ ।

सर्वोच्च अदालतको आदेश अनुसार बर्दियाको बढैयाताल गाउँपालिका वडा नं २ को कार्यालयले लेस्बियन जोडीको विवाह दर्ता गरेको हो।

पाँच वर्षदेखि समलिङ्गी सम्बन्धमा रहेका बढैयाताल वडा नं २ निवासी अन्जुदेवी श्रेष्ठ (दीप्ति) र बाँके कोहलपुर नगरपालिका वडा नं ५ बस्ने सुप्रिता गुरुङ्गको जोडीले कानुनी रूपमा विवाह दर्ताको प्रमाणपत्र लिएका छन् ।

स्थानीय पञ्जीकाधिकारी एवं वडा सचिव दीपक नेपालीले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको प्राविधिक शाखाबाट दिएको जानकारी अनुसार विवाह दर्ता गरिएको बताए।

‘दर्ता गर्ने र प्रमाणपत्रमा अस्थायी विवाह दर्ता लेखेर जारी गर्न पञ्जीकरण विभागको प्राविधिक शाखाबाट जानकारी आयो,’नेपालीले भने,‘समलिङ्गी महिलाको विवाह दर्ता भएको यो पहिलो हो।’

मायाको पहिचान नेपालका कार्यकारी निर्देशक एवं पहिलो संविधान सभा सदस्य सुनिलबाबु पन्तले अन्जु र सुप्रितालाई दक्षिण एसियाकै पहिलो लेस्बियन ९महिला समलिङ्गी० जोडी भनेका छन् ।

३३ वर्षीया दीप्ति श्रेष्ठ र ३३ वर्षीया सुप्रिता गुरुङ, दुवै जन्मँदा महिला हुन् र महिलाको रूपमा पहिचान भए। ‘नेपालबाट दक्षिण एसियाकै पहिलो लेस्बियन जोडीको रूपमा औपचारिक रूपमा विवाह दर्ता गरी इतिहास रचेका छन्,’पन्तले सामाजिक सञ्जालमा लेखेका छन् ।

उनीहरूले विवाह दर्ताका लागि ४ माघमा वडा कार्यालयमा निवेदन दिएका थिए। सर्वोच्च अदालतले १२ असारमा दिएको आदेश र विभागको पत्र अनुसार यसअघि लमजुङको दोर्दी गाउँपालिकाले दक्षिण एसियामै पहिलो पटक माया गुरुङ्ग र सुरेन्द्र पाण्डेलाई विवाह दर्ताको प्रमाणपत्र दिएको थियो ।

माया र सुरेन्द्र जन्मँदा छोरा हुन भने दीप्ति र सुप्रिता दुवै छोरी हुन् । दुवै जोडी यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका हुन्। पहिलो विवाह दर्ता भएसँगै यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक ९समलिङ्गी, तेस्रोलिंगी, अन्तरलिंगी० समुदायका जोडीको वैवाहिक अधिकार सुनिश्चित भएको छ।

पन्तले विभागका महानिर्देशक युवराज कटेललाई कानुन नबनेसम्म अस्थायी विवाह दर्ता गर्नु भन्ने सर्वोच्चको आदेश अनुसार विवाह दर्ता गरिदिने व्यवस्था गर्न आग्रह गरेका थिए।

सर्वोच्च अदालतले तत्काल विवाह दर्ताको रिट निवेदनमा चैत १ गते पूर्ण सुनुवाइका लागि पेशी तोकेको छ। नेपालमा पुरुष र महिलाको विवाह मात्रै दर्ता हुँदै आएको थियो।

सर्वोच्चको आदेश पछि पुरुषपुरुष र महिलामहिलाको पनि विवाह दर्ता हुन थालेको छ।

समलिङ्गी विवाह दर्ताका गरेका दीप्ति र सुप्रिता ५ वर्षदेखि जीवनसाथीको रूपमा बसिरहेका छन् ।

Categorized in राष्ट्रिय