प्रहरी कल्याण कोषबाट २२ हजार बढि लाभान्वित
SamacharDesk – बिराज | २०८० फाल्गुण ४, शुक्रबार

चालु आर्थिक वर्षको साउनदेखि माघसम्मको ७ महिनाको अवधिमा प्रहरी कल्याण कोषबाट उपलब्ध हुने सेवा सुविधाबाट २२ हजार बढि लाभान्वित भएका छन् ।
बहालवाला र सेवा निवृत्त प्रहरी कर्मचारीका साथै तिनका आश्रित परिवार, अशक्त प्रहरी कर्मचारी र अमर, सहिद प्रहरी परिवारका सदस्यहरू गरी २२ हजार ८३३ जना कोषको सुविधाबाट लाभान्वित भएका हुन् ।
तीमध्ये शिक्षातर्फ जेहेन्दार छात्रवृत्ति ३० जना, उच्च छात्रवृत्ति १२२ जना, उच्च प्रोत्साहन छात्रवृत्ति २ जना र शौक्षिक कर्जा ६ जना छन् ।
सामाजिक सुरक्षातर्फ जेष्ठ निवृत्तिभरण २४० जना, किरिया कर्म खर्च २१३ जना, मृत्यु राहत अनुदान ५० जना र विवाह अनुदान ३ जना छन् ।
स्वास्थ्यतर्फ औषधि उपचार अनुदान ५८ जना, निर्ब्याजी उपचार सापटी चार जना र औषधोपचार कर्जाबाट एक जना लाभान्वित भएका छन् ।
यसैगरी सहुलियत ऋणतर्फ सहुलियत नगद ऋण रकम ३ हजार ६४७ जना र घर निर्माण तथा मर्मत सम्भार कर्जा ५३ जनालाई उपलब्ध गराइएको छ ।
किस्ताबन्दी सहुलियत ऋणतर्फ नयाँ/पुरानो चारपाङग्रे कार/जिप १५ जना, मोटरसाइकल/स्कुटर ५८९ जना र घरायसी सामान ८६ जनाले सुविधा लिएका छन् ।
तालिम तथा वृत्ति विकास (प्रदेश स्तरीय कल्याण कोषबाट संचालित) मा सीपमूलक तालिम ६७ जनाले हासिल गरेका छन् ।
अन्य सेवा सुविधातर्फ प्रहरी आवास सुविधा ३६ जना, प्रहरी अतिथि गृह १ हजार १०१ जना, नेपाल पुलिस हेल्थ क्लब ७ हजार ८० जना, ज्येष्ठ प्रहरी अतिथि गृह २६० जना र नेपाल पुलिस स्कुल ९ हजार १४७ जनाले प्राप्त गरेका छन् ।
यस्तै प्रहरी कर्मचारी युएन मिसन जाँदा उपलब्ध हुने सुविधा २३ जनाले प्राप्त गरेका छन् ।
कल्याण कोषबाट उपलब्ध हुने सुविधा बढाउन प्रयासरत रहेको नेपाल प्रहरीले जनाएको छ । कल्याण कोष सम्बन्धी सम्पूर्ण व्यवस्थापन नेपाल प्रहरी प्रधान कार्यालय प्रहरी कल्याण महाशाखाबाट हुने गर्छ ।
नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक भिम प्रसाद ढकालले सेवा निवृत्त प्रहरी तथा तिनका आश्रित परिवार, अशक्त तथा अमर प्रहरी परिवारका सदस्यहरूको स्वास्थ्य, शिक्षा, सामाजिक क्षेत्रमा आर्थिक सहयोग प्रदान गर्न कोषले मद्दत पुर्याएको बताए ।
‘खेलकुदको विकास लगायत विविध कल्याणकारी क्षेत्रहरूमा लगानी गर्ने, आयमूलक तथा सेवामूलक कल्याणकारी कार्यक्रमहरूको विस्तार गर्ने लक्ष्य रहेको छ” प्रहरी नायव महानिरिक्षक ढकालको भनाई हो ।
संयुक्त राष्ट्र संघीय मिसनमा सहभागी प्रहरी कर्मचारीबाट हुने योगदान, बैंकको मुद्धती निक्षेपको व्याज, पेट्रोल पम्पहरूबाट हुने आम्दानी, सपिङ कम्प्लेक्स तथा आवास र अतिथि गृह भाडा वापतको आम्दानी कल्याणको कोषको आम्दानी रहेको प्रहरी बताउँछ ।
साथमा कोषको आम्दानीको श्रोतको रुपमा नेपाल पुलिस हेल्थ क्लवको आम्दानी, विभिन्न सहुलियत ऋण तथा घर कर्जा लगानीबाट प्राप्त व्याज र अन्य आम्दानी पनि रहेको छ ।
Categorized in समाज