६४ वर्षपछि हुलाक टिकट नेपालमै छपाई
SamacharDesk – समाचारडेस्क | २०८० फाल्गुण ४, शुक्रबार

६४ वर्षपछि हुलाक टिकट नेपालमै छपाई सुरु भएको छ । २०१६ सालदेखि विदेशमा छाप्ने गरिएको हुलाक टिकट अब नेपालमै छपाई हुनेछ ।
सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माको पहलमा सरकारी स्वामित्वको जनक शिक्षा सामग्री केन्द्रले स्वदेशमै हुलाक टिकट छाप्न सुरु गरेको हो ।
यसैबीच मन्त्री शर्माले जनक शिक्षाले छापेको शहीद कामी बुढा, रामवृक्ष यादव, नेत्रलाल पौडेल ‘अभागी’ र ऐतिहासिक व्यक्तित्व साहना प्रधानको मुखाकृत हुलाक टिकटमा टाँचा लगाएकी छन् ।
नेपालमा हुलाक सेवाको स्थापना तथा हुलाक टिकटको प्रचलन राणा प्रधानमन्त्री रणोद्वीप सिंह कुँवरको पालामा भए पनि कागते हुलाकीको प्रचलन भने पृथ्वीनारायण शाहको पालामा नै सुरु भएको थियो ।
रणबहादुर शाहको पालामा व्यवस्थित थाप्ले हुलाकीको सेवा पनि थपिएको थियो । यसरी कागज पत्र बोक्ने र जिन्सी सामग्री थाप्लोमा नाम्लोका सहारामा बोक्ने थाप्ले हुलाकीहरुका जागिरेहरूलाई जागिर बापत हुलाकी खेत पाउने गर्दथे ।
बि.सं. १९३५ मा नेपाल हुलाक घरको स्थापना भएको तीन वर्ष पछि नेपालमा हुलाक टिकट छापिन थालेको थियो ।
श्री गोरखा सरकार लेखिएको तथा गोर्खालीहरूको वीरताको प्रतीक खुकुरी राखिएको थियो । एक आना, दुई आना तथा चार आना मुल्यका यी हुलाक टिकटमा हातले नै गम टाँसिएको थियो ।
पहिलो पटक बि.सं. १९३८ को वैशाख र जेठमा जङ्गबहादुरले बेलायतबाट ल्याइएको गिद्धे प्रेसमा बेलायतबाट नै ल्याइएको कागजमा छापिएको नै थियो ।
Categorized in राष्ट्रिय